पोखरा । पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो ।
महानगर न्यायिक समितिले विभिन्न संघ, संस्थासँग मिलेर विगत दुई वर्षदेखि सञ्चालन गरेकोे कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिदै कार्यक्रम गरिरहेको छ । यसैवीच ‘न्यायिक समितिसँग विद्यार्थी’ कार्यक्रम अन्र्तगत शुक्रबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखरा–७ मासबारमा रहेको मदरल्याण्ड माविमा अध्ययनरत विद्यार्थीलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको छ । कार्यक्रमको उद्घाटन गदै पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङले स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यसले निरुपण गर्ने विवादका विषयमा जानकारी गराउदै सचेतना जगाउने उद्देश्यले विभिन्न संघसंस्थासंग मिलेर कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
उपप्रमुख गुुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानले गरेको हुदाँ नागरिकलाई सचेतना जगाउन कार्यक्रम गरिएको बताउनुभयो ।स्थानीय तहमा सृजना भएका विवादलाई स्थानीय स्तरमा समाधान गदै विवाद रहित समाज निर्माण गर्ने उदेश्यले न्यायिक समितिको परिकल्पना गरिएको उहाँको भनाइ छ । ‘स्थानीय विवादहरु अदालत पुुग्ने अवस्थाले समय र पैशा दुवै खर्च हुने भएकाले नागरिकले सहज रुपमा न्याय प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको ब्यवस्था गरिएको हो,’ उहाँले भन्नुभयो ।
नागरिकले सहज र सरल रुपमा न्याय पाउन भन्ने उदेश्य र स्थानीय तहका विवाद अदालतसम्म पुुग्नुपर्ने अवस्था नआओस भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको जनाउँदै भन्नुभयो, ‘समय र पैशाको बचतका लागि र स्थानीय विवाद मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले न्यायिक समितिको व्यवस्था गरिएको हो । यसका बारेमा महानगरका नागरिकले जानकारी पाउनुपर्छ भन्ने मान्यताले कार्यक्रम सञ्चालन गरिएको हो ।’ कार्यक्रममा मदरल्याण्ड माविका प्राचार्य नारायण बरालले कार्यक्रम विद्यार्थीका लागि उपयुक्त भएको बताउदै महानगरले विद्यार्थीमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई स्थानीय अदालतको रुपमा रहेको न्यायिक समितिको बारेमा जानकारी हुने र समाजमा सकरात्मक प्रभाव पार्ने बताउनुभयो ।
कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका अभिलेख संरक्षक पवन सुवेदीले मेलमिलापकर्ता सूचीकृतको प्रक्रिया, आचारण र योग्यताबारे सहजीकरण गर्नुभएको थियो । प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजराम पौडेल र सचिव गौरव त्रिपाठी लगायतले बोल्नुभएको थियो ।