पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने भएका छन् । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शनिबार भएको सेमीफाइनल खेलहरुमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरी स्कुल र सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त आईतबार हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरीलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको छ । टस जितेर व्याटिङ रोजेको रत्नज्योति प्रतिभासामु निरीह देखियो । रत्नज्योतिले ९ ओभरमा सबै विकेट गुमाएर केवल २६ रन मात्र बनायो । प्रतिभाका बलरहरुले रत्नज्योतिका व्याटरहरुलाई खुलेर खेल्न दिएनन् र न्यून स्कोरमा एकपछि अर्को गर्दै व्याटिङ अर्डर धरासायी बनाए । प्रतिभाका सरोज पौडेलले ४ विकेट तथा सहबुद्दिन अन्सारीले २ विकेट लिएका थिए ।
२७ रनको झिनो लक्ष्य पछ्याएको प्रतिभा माविले केवल १.५ ओभरमै एक विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रतिभालाई जिताउन सफल श्रेष्ठ एक्लैले १५ रनको योगदान दिए । सो खेलमा प्रतिभाका सरोज पौडेल प्लेयर अफ दी म्याच घोषित भए । शनिबार नै भएको दोस्रो सेमीफाइनल खेलमा सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित ग¥यो । टस जितेर व्याटिङ रोजेको सृजनाले १९.४ ओभरमा सबै विकेट गुमाएर १२० रनको योगफल तयार गरेको थियो । सृजनाका लागि अभय विक एक्लैले ५७ रनको योगदान दिए ।
१२१ रनको मध्यम लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्ड केवल ७.३ ओभरमा सबै विकेट गुमाएर ३७ रनमा सिमित भयो । सृजनाका बलरहरुसामु निरीह देखिएका मदरल्याण्डका व्याटरहरुले खुलेरै खेल्नै पाएनन् । मदरल्याण्डलाई सस्तैमा समेट्न सृजनाका सोनु यादवले ह्याट्रिकसहित ६ विकेट तथा किरण पौडेलले ४ विकेट हत्याएका थिए । उनी सो खेलमा प्लेयर अफ दी म्याचसमेत घोषित भए ।