फेवाताल किनारमा गाडिए २७ पोल

फेवाताल किनारमा गाडिए २७ पोल

pol

पोखरा ।  मानवीय र प्राकृतिक  अतिक्रमणको चपेटामा परेको फेवाको मापदण्ड कायम गर्न ताल किनारको उच्च विन्दुमा पोल गाडिँदै छ ।

सर्वोच्च अदालतको आदेश अनुसार पोखरा महानगरपालिका, गण्डकी  प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा तालको किनार (तालघर)मा सोमबारसम्म २७ पोल गाडिएका छन् । बर्खामा पानीको सतह उच्च हुँदा हुने तालको किनारा र क्षेत्रफल करिब डेड वर्ष लगाएर अध्ययन गरेपछि पोल गाड्न थालिएको हो ।

डिजिटल सीमाङ्कन सकिएपछि शनिबारबाट भौतिक पोल गाड्न थालिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोल गाडेर सीमाङ्कन सुरुआत गर्नुभएको थियो । पहिलो दिन सात पोल गाडिएकोमा आइतबार थप आठ पोल गाडिएका थिए ।

पोल गाड्न सुरुआत भएको एक महिनाभित्र काम सक्ने महानगरको तयारी छ । महानगरका प्रमुख धनराज आचार्यले भन्नुभयो, “अबको एक महिनाभित्रै फिजिकल पोल गाडी सक्छौँ, त्यसपछि बाँकी काम सुरु हुन्छ ।” अहिले गाडिएका पोलबाट ६५ मिटर मापदण्ड कायम गरी त्यहाँ रहेका संरचना हटाएर हरियाली क्षेत्र बनाउन सर्वोच्चको आदेश छ । तेस्रो दिन सोमबार रत्न मन्दिर परिसरमा पर्ने ताल घरमा थप १२ पोल गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताउनुभयो । प्राविधिक, नगर प्रहरीसहितका कर्मचारी पोल गाड्न खटिएका छन् ।

६.३४३ वर्ग किलोमिटरमा फैलिएको तालको चार किल्लामा एक हजार ५५ पोल गाडिनेछन् । अहिलेको अध्ययनअनुसार फेवाको क्षेत्रफल १२ हजार चार सय ६८ रोपनी तीन पैसा तीन दाम देखिएको छ ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds