पोखरामा प्रतिभा एजुकेसनले खोल्यो उन्नत शिक्षा प्रणालीमा आधारित ‘एभरग्रिन एकेडेमी’

पोखरामा प्रतिभा एजुकेसनले खोल्यो उन्नत शिक्षा प्रणालीमा आधारित ‘एभरग्रिन एकेडेमी’

नविनतम् प्रविधि र कला केन्द्रित परियोजनामा आधारित सिकाई, कक्षा ५ सम्म भर्ना खुल्ला

Evergreen Press Meet (1)

पोखरा । पोखराको शैक्षिक शानका रुपमा स्थापित प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रीन एकेडेमी स्थापना गरेको छ । पोखरा तेर्सापट्टिस्थित साविक कल्पना सिनेमा हलको स्थानमा अत्याधुनिक भवन निर्माण गरी एडेकेमी सञ्चालनमा ल्याएको हो ।

यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर एकेडेमीले जानकारी दिएको हो । टोडलरदेखि कक्षा ५ सम्मको पढाइ सुरु हुने भएको छ । आगामी वर्षदेखि कक्षा ६ देखि १० सम्म विस्तार गर्ने योजना छ । विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, साइन्स ल्याब, लाइब्रेरी, तल्ला चढ्न लिफ्टसहित अत्याधुनिक सेवासुविधा उपलब्ध गराइने एकेडेमीले जनाएको छ ।

फाउण्डेसनद्वारा सञ्चालित प्रतिभा माविको शैक्षिक सफलतासँगै विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणलाई सशक्त बनाउन प्रतिभा एजुकेसन मातहत नै रहनेगरी एभरग्रीन एकेडेमी स्थापना गरिएको प्रतिभा एजुकेसन फाउण्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।विद्यार्थीलाई सिर्जनात्मक, व्यावहारिक तथा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको पौडेलले बताए । ‘एकेडेमीको मुख्य उद्देश्य भनेको प्रत्येक विद्यार्थीको वैयक्तिक भिन्नतालाई सबलीकरण गराउनु हो ।’ उनले भने, ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टीम) र उन्नत प्रणालीमा आधारित शिक्षा प्रदान गर्नु हो ।’

‘प्रत्येक विद्यार्थी फरक–फरक हुन्छन्, त्यसैले उनीहरूको प्रतिभा पहिचान गरी सोहीअनुसार सिकाइ प्रविधि अपनाइनेछ,’ पौडेलले थपे ।एभरग्रीन एकेडेमीले समावेशी र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्ने एकेडेमीका निर्देशक किरण सापकोटाले बताए । उनले भने, ‘हामी पाठ्यक्रम र परीक्षामा आधारित मात्र शिक्षा दिन्नौँ । बरु विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउन चाहन्छाै‌ ।’

निर्देशक सापकोटाका अनुसार एकेडेमीले विद्यार्थीको व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर शिक्षा प्रदान गदर्छ । ‘विद्यार्थीको सोंच र सिर्जनात्मक क्षमता प्रकट गर्न र उनीहरुलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउने हो । जसका लागि विद्यार्थीको प्राकृतिक जिज्ञासा र अन्वेषणको भावना अभिवृद्धि गर्नमा केन्द्रित रहेर अध्यापन गराइन्छ ।’ उनले भने – ‘यसले विद्यार्थीलाई विभिन्न विषयसँग सम्बन्धित समस्याको समाधानमा अग्रसर बनाउँछ, जसले उनीहरुमा विश्लेषणात्मक र समस्या समाधान सीपको विकास गर्नेछ ।’ विद्यार्थीको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना बनाएर शैक्षिक गतिविधि सञ्चालन गर्ने तथा शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई पनि उत्तिकै प्राथमिकता दिने निर्देशक सापकोटाले बताए ।

प्रत्येक कक्षामा २४ जनासम्म विद्यार्थी भर्ना गरिनेछ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कक्षाकोठाको संख्यालाई सीमित राखिएको विद्यालयले जनाएको छ । अत्याधुनिक साइन्स ल्याब, कम्युटर ल्याब, हाइजेनिक खाजाको व्यवस्था, एसीसहितको बस सुविधा, सबै विद्यार्थीका लागि कपडा तथा किताब राख्ने दराजको व्यवस्था गरिएको छ । विद्यालय पोशाक नतोकिने एकेडेमीले जनाएको छ । जग्गा र भवन निर्माणमा हालसम्म ५० करोड खर्च भइसकेको जनाइएको छ । निर्माण कार्य अझै जारी छ ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds