‘एयरबस ३१९’ जहाजले गर्‍याे फुल लोडसहित पोखरा विमानस्थलबाट टेक अफ

टेक अफको भ्रम हट्याे

‘एयरबस ३१९’ जहाजले गर्‍याे फुल लोडसहित पोखरा विमानस्थलबाट टेक अफ

air bus 319

फुल लाेडसहित पोखरा विमानस्तथलबाट टेक अफ गरेको सिचुवान एयरको जहाज तस्बिर : राधिका कँडेल

पोखरा । सञ्चालन भएको २ वर्ष सम्म पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा व्यावसायिक उडान नभएपछि विमानस्थलको निर्माण र प्राविधिक पक्षबारे विभिन्न अड्कल बाजी र भ्रम छरिएको छ । नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपनि हिजोसम्म गरेर ८ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

विषेशगरी पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण इभेन्ट भएका बेला विशेष गरी चीनबाट चार्टर्ड उडान हुने गरेका छन् । चीनबाट मात्र नभइ भारत र भुटानबाट पनि उडान भएको छ । अहिलेसम्म एउटामात्रै व्यावसायिक उडान भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि यो विमानस्थलबाट ठूलो जहाजलाई फुल लोडसहित टेक अफमा समस्या पर्ने भन्ने गलत प्रचार समेत भएको छ । यो गलत प्रचारलाई चिर्न पर्यटन व्यावसायी लगायत सराेकारवाला पोखराको विमानस्थलमा फुल लोडमा ल्यान्ड भएपनि टेक अफमा समस्या भएको भ्रम चिर्न लागि परिरहेका थिए । जुन, बिहीबार सफल भएको छ । चिनको लिन्जीबाट आएको सिचुवान एयरको जहाजले फुल लोडसहित टेक अफ गरी काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

पोखरामा पुस १४ र १५ गते हुने नेपाल चिन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगितामा सहभागी हुने खेलाडी बाकेर चीनको लिन्जीबाट १ सय २९ यात्रु (क्रु मेम्बरबाहेक) बोकेर आएको ‘एयरबस ३१९’ जहाज सफल अवतरण भयो । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभस एजेन्टस् (नाट्टा) गण्डकीले त्यही जहाजसँग समन्वय गरी फुल लोड टेक अफ गर्ने योजना बनायो । त्यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि साथ दियो । सोही अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालको टिम, पोखराका पर्यटन व्यवसायी र पत्रकारसहित उक्त विमान केही समयपछि नै १ सय २६ जना यात्रु (क्रू मेम्बरबाहेक) बोकेर काठमाडौंतर्फ उड्यो ।

पोखरा विमानस्थलमा झैं काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज सफल अवतरण भयो । त्यसपछि सबैले फुल लोड टेक अफमा समस्या रहेको भ्रम चिरिएको प्रतिक्रिया दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलमा कुनै पनि प्राविधिक समस्या नरहेको दाबी गरे । अब यसलाई कसरी नियमित बनाउने र कस्ता जहाजलाई अवतरण गराउने भन्ने विषयमा छलफल हुनुपर्ने उनको भनाइ छ । गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पनि पोखरा विमानस्थल सम्पूर्ण गण्डकी प्रदेशवासीको आशा र भरोसा भएकाले तत्काल नियमित रुपमा अन्तर्राष्ट्रिय उडानमा जोड दिए । यसमा मन्त्रालयले गर्ने सहजीकरणमा कुनै कमी नगर्ने उनले प्रतिवद्धता जनाए ।

पर्यटनको राजधानी घोषणा भएको अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिटो चालु हुनुपर्नेमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको जोड छ । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएका भ्रम सबै चिरिएको बताउँछन् । नाट्टा गण्डकी अध्यक्ष किशोर दाहालले पोखरामा अध्यागमन, भन्सार, श्रम, शिक्षा, स्वास्थ्य पररास्ट्र मन्त्रालयका सम्बन्धित कार्यालय तथा अन्तर्राष्ट्रिय जहाज कम्पनीका शाखा स्थापना गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरी सबैको सहकार्यमा भएमा व्यावसायिक उडान सफल हुने उनको तर्क छ । यो विमानस्थलमा एयरबस ३२० जहाज उडान अवतरण गर्न सक्छन् भने ती जहाजको सिट क्षमता १ सय ८० सम्मको हुनेछ ।

प्रतिक्रिया