२० औं लेखनाथ महोत्सवको तयारी, गौतम बुद्धको प्रतिमा राखिने

२० औं लेखनाथ महोत्सवको तयारी, गौतम बुद्धको प्रतिमा राखिने

lcci

पोखरा । लेखनाथ महोत्सवको तयारी सुरु भएको छ । २० औं लेखनाथ महोत्सव आगामी पुस १८ गतेदेखि माघ १ गतेसम्म लेखनाथस्थित तालचोकमा हुने भएको हो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुने लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्थानीय कृषि तथा औंद्योगिक उत्पादनको प्रर्वद्धन, हस्तकलाका बस्तुहरुको बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुका उत्पादित बस्तु तथा सेवाहरुको प्रदर्शनी, जातीय भेषभुषा, कला संस्कृति र रीतिरिवाजको जर्गेना र नव प्रतिभाको प्रस्फुटनका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका महासचिव जानुका पराजुली अधिकारीले बताइन् ।

मेलामा औद्योगिक व्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामान, विद्युतीय उपकरण, फर्निचरका सामान, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्री तथा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरुको प्रदर्शनी रहनेछ । त्यसैगरी लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिभल, अटोमोबाइल, वित्तीय तथा अन्य सेवामूलक संघ संस्थाको प्रदर्शनी, लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी जैविक विविधता, दूग्धजन्य उत्पादन लगायतको बिक्री प्रदर्शनी पनि रहने अधिकारीले बताइन् ।

शान्ति दूत भगवान गौतम बुद्धको प्रतिमा महोत्सव स्थलमा राखिने भएको उनले बताइन् । नवप्रतिभा खोजी अन्तर्गत खुल्ला युगल जोडी नृत्य प्रतियोगिता, महिला समूहबीच हाजिवरीजवाफ प्रतियोगिता, रत्यौली गीत, शैक्षि प्रदर्शनी, विद्यालय स्तरीय खुल्ला चित्रकला प्रतियोगिता, पप कन्सर्ट र लाइभ ब्यान्ड प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिलाई समेटिएको छ । महोत्सवमा ३ सय ३६ वटा स्टल रहने भएका छन् भने त्यसमा अटो प्रदर्शनीमा ६, शैक्षिक÷ग्रामीण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामग्री २५, मेसिनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १ सय ८, जनरल २६, फुड एन्ड बेभरेज १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खानाका १७ वटा स्टल रहनेछन् ।

स्टल बुकिङ खुल्ला भइसकेको छ भने लेखनाथ उद्योग वाणिज्य संघका सदस्यलाई स्टलमा २० प्रतिशत छुट र ढुवानीमा थप २ हजार उपलब्ध गराइने अध्यक्ष विनोद श्रेष्ठले बताए । महोत्सवको मुख्य प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने बैंकले ५ लाख सहयोग गर्ने बैंकका गण्डकी प्रमुख पूर्णचन्द्र थापाले बताए । २०५४ सालमा स्थापना भएको संघले २०५९ र ६० सालमा सुन्तला प्रदर्शनीको साथै २०६१ सालदेखि लेखनाथ महोत्सव गर्दै आएको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, उपमहासचिव भरतराज ओझा, पत्रकार महासंघ कास्कीका कार्यवाहाक अध्यक्ष रामप्रसाद तिमिल्सेना लगायतले बोलेका थिए ।

प्रतिक्रिया