पोखरा । पोखरामा १४ औं नेसनल खेलकुद महोत्सव हुने भएको छ । नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले “एन प्याब्सन कास्कीको इच्छा, विद्यालय तहमा खेलकुदसहितको शिक्षा” भन्ने मूल उद्देश्यका साथ मंसिर २५ गते देखि २८ गते सम्म खेलकुद महोत्सव गर्न लागेको हो । मंसिर २१ गतेबाट अनौपचारिक रुपमा प्रतिस्पर्धा हुने भएपनि महोत्सवको औपचारिक उद्घाटन मंसिर २५ गते गरिने एन प्याब्सन कास्कीका अध्यक्ष तथा खेलुकद महोत्सव संयोजक हेमन्त अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
एन प्याब्सन कास्कीले पहिलो पटक सिनियर कक्षा १–१० सम्म छात्र–छात्रा ५ किमी सडक दौडसँगै क्रिकेटलाई समावेश गरेको अधिकारीले बताए । प्रतियोगिता अन्तर्गत छात्र–छात्रा जुनियर कक्षा १–७ सम्म एथलेटिक्स ट्रयाक एन्ड फिल्डका प्रतिस्पर्धा, ह्यान्डबल, ब्याडमिन्टन र टेबुल टेनिसका खेलहरु हुनेछन् भने सिनियर कक्षा १–१० सम्म छात्र–छात्रा एथलेटिक्स ट्रयाक एन्ड फिल्ड, भलिबल, फुटबल, ब्याडमिन्टन, टेबुल टेनिस, बास्केटबलका प्रतिस्पर्धाहरु हुनेछन् । कक्षा ११–१२ अन्तर्गत छात्र फुटसल र बास्केटबल छात्रातर्फ बास्केटबल हुने भएको छ ।
एन प्याब्सन कास्कीले आफ्नो १४ औं खेलकुद महोत्सवमा च्याम्पियन टिमलाई प्रदान गरिने ट्रफीको अनावरण गरेको छ । उक्त ट्रफीको शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरूङले अनावरण गरे । आधा किलो चाँदीको प्रयोग गरी हस्तकलाबाट निर्मित ट्रफीका लागि १ लाख २५ हजार खर्च भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
अधिकारीले विद्यार्थीमा निहीत प्रतिभा प्रस्फुटनका लागि नियमित कार्यक्रम अन्तर्गत खेलकुद महोत्सव आयोजना गरिएको बताए । २०५५ सालमा स्थापित एन प्याब्सन कास्कीमा अहिले ४९ विद्यालय आबद्ध छन् । तीमध्ये ४६ विद्यालयका करिब ८ हजार ५ सय जना विद्यार्थीले विभिन्न खेलकुद प्रतियोगितामा भाग लिने छन् । ४ हजार ६ सय छात्र र ३ हजार ९ सय जना छात्रा मैदान उत्रिने छन् । तहगततर्फ १ सहभागीमध्ये ९ सय २९ जना विद्यार्थी पुरस्कृत हुने छन् । २ सय ५१ स्वर्ण, २ सय ५१ रजत र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने अधिकारीले बताए । प्रतियोगिताको १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
प्रतियोगिता सम्पन्न गर्न हेमन्त अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । प्रचार संयोजकमा प्रेमराज अधिकारी, मार्चपासमा कमलबहादुर मल्ल, समूह खेलमा फुटबलतर्फ अर्जुनप्रसाद पाण्डे, बास्केटबलमा वेदबहादुर श्रेष्ठ, टेबलटेनिसमा शिवराज पौडेल, भलिबलमा प्रकाशराज वाग्ले, ब्याडमिन्टनमा ज्ञानेन्द्रबहादुर थापा, क्रिकेटमा रमेशराज पौडेल, ह्यान्डबलमा अर्जुनप्रसाद अधिकरी, फुटसलमा विष्णुप्रसाद पौडेल, एथलेटिक्समा केशवशरण पौडेल संयोजक छन् ।
यस्तै, स्वास्थ्य उपचार व्यवस्थापनमा हरिराज अधिकारी, मञ्च सजावट र साउन्ड सिस्टममा दीपु भारी, न्यायिक छानबिन तथा निर्णायाक उपसमिति संयोजकमा हेमन्त अधिकारी तोकिएका छन् । साथै, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा मनकाजी गुरुङ, शान्तिसुरक्षा व्यवस्थापनमा युवक लामिछाने, सचिवालयमा प्रेमराज अधिकारी, खाना, खाजा, पानी तथा अतिथि व्यवस्थापनमा राजु केसी र खेलकुद समन्वय तथा व्यवस्थापनमा राजु कायस्थ संयोजक रहेको अध्यक्ष अधिकारीले बताए ।