पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे ।

चरक इस्टिच्य्ुट अफ हेल्थ साइन्सले बिहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा ठानेका विषयलाई हल गर्दै लगानीमैत्री वातावरण बनाउन आफूले ध्यान दिने पनि बताए। ‘मेडिकल कलेजहरूले उत्पादन गरेको प्राविधिक जनशक्तिलाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको दायित्व हो’, उनले भने ‘दक्ष युवा शक्तिलाई स्वदेशमै व्यवस्थापन गरेर विदेश पलायन रोक्न नीतिगत सुधारको आवश्यकता छ । आत्मसम्मानसहितको व्यवस्थापन युवाहरुको माग हो भन्ने राज्यले बुझ्नुपर्दछ ।’
गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवधिक योजनाका साथ अगाडि बढेको स्मरण गर्दै पाठकले नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा गतिलै सुधार गर्ने उद्देश्यका साथ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गरेको पनि दोहोर्याए । चरक हस्पिटलका प्रबन्ध निर्देशक तथा इस्टिच्यूटका अध्यक्ष कपील पोखरेलले भौतिक पूर्वाधार सम्पन्न शिक्षामैत्री वातावरणमा विगत लामो समयदेखि प्राविधिक शिक्षा नर्सिङ, एचए र फार्मेसी विषय अध्यापन गराइरहेको यस इन्स्टिच्यूट यस क्षेत्रमै अब्बल शैक्षिक संस्था रहेको उल्लेख गरे ।
नर्सिङ प्रवेश परीक्षाका टपरले नै यस इन्स्टिच्युट छनौट गरेको जनाउँदै उनले सरकारले भने निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै पनि राम्रो नरहेको गुनासो गरे । कलेज प्रिन्सिपल केशवराज अधिकारीले गुणस्तरीय शिक्षाका लागि यस इन्स्टिच्युट अग्रणी स्थानमा रहेको दाबी गर्दै यहाँबाट उत्पादित विद्यार्थीले लोकसेवा लगायतका परीक्षामा उत्कृष्ट स्थान प्राप्त गरेको बताए । सो अवसरमा २१ औं ब्याचमा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा १८ औं ब्याचमा भर्ना भएका विद्यार्थीलाई बिदाइ गरिएको थियो । विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति पनि राखेका थिए ।

This will close in 10 seconds