स्याङ्जा । फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई उद्यम सिकाउने अभियान थालेको छ । ‘एक विद्यालय अनिवार्य एक उद्यम कार्यक्रम’ लाई अभियानका रुपमा गाउँपालिकाले अगाडि बढाएको हो । विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक सिप सिकाएर उद्यममा जोड्नका लागि यो कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
गाउँपालिकाले वडा नं २ मा रहेको महेन्द्र जनसहयोग आधारभूत विद्यालयबाट यो कार्यक्रम सुरुवात गरेको हो । यो विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने गरेको छ भने ६ देखि ८ सम्मका विद्यार्थीलाई उद्यम सिकाउने गरिएको छ । सुवेदीका अनुसार विद्यालयमा हप्ताको एक दिन विद्यार्थीलाई व्यावहारिक सिप सिकाउने तालिका बनाइएको र उक्त दिन विद्यार्थी किताब नलिइ विद्यालय पुग्छन् । स्थानीय उत्पादन र उपलब्ध कच्चा पदार्थको प्रगोग गरी दुना, टपरी, कृषिजन्य उत्पादन तथा बाटेको धूप बनाउन विद्यार्थीलाई सिकाउन गरिएको छ । उनले विद्यालय सुधार योजनामा विद्यालयहरुले उद्यमलाई समेट्नुपर्ने र गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए । एउटा विद्यालयलाई एउटा उद्यममा जोड्ने गरी गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ छ ।
‘विद्यालयलाई सम्भावित उद्यमको पहिचान गरी गाउँपालिकामा पेश गर्न भनिएको छ,’ अध्यक्ष सुवेदीले भने,‘ गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी कार्यक्रमको शीर्षक बजेटबाट आवश्यक सहयोग र सहजीकरण गर्नेछ ।’ वडा नम्बर २ का वडाध्यक्ष अभिलास गुरुङसहित वडा समितिले पनि यो कार्यक्रम अगाडि बढाउन सक्रियता देखिएको उनको भनाइ छ । वडा नम्बर २ का थप २ माविमा यो कार्यक्रम लागू गर्ने तयारी समेत भएको छ ।
फेदीखोला गाउँपालिकामा ३१ वटा सामुदायिक विद्यालय रहेका छन् भने ती मध्ये १० वटा मावि छन् । माध्यामकि विद्यालयका ६ देखि ९ सम्मका विद्यार्थीलाई उद्यममा जोड्ने गरी कार्यक्रम अगाडि बढाइएको हो । निकट भविश्यमा वडा नम्बर १ को चण्डीडाँडा मावि, वडा नम्बर २ को सिद्धार्थ मावि र कालाभैरव मावि, वडा नम्बर ३ को जनप्रिय मावि, ४ को जनआदर्श मावि, वडा नम्बर ५ को मैदान माविमा पनि ‘एक विद्यालय अनिवार्य एक उद्यम कार्यक्रम’ लागू गरेर लैजाने तयारी भएको अध्यक्ष सुवेदीले बताए ।