पोखरा । कर्मचारी मिलन केन्द्र कास्कीको आयोजनामा हरेक महिना गर्दै आइएको सम्पदा सरसफाई अभियान अन्तर्गत फेवाताल किनाराको केदारेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरिएको छ । प्रत्येक महिनाको ५ गते गर्दै आइएको सरसफाइ अभियान अन्तर्गत यसपटक केदारेश्वर मन्दिर परिसर छनौट गरिएको कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले बताए ।
राष्ट्रसेवक कर्मचारीहरूले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्नुपर्ने कुरालाई आत्मसात गर्दै महिनाको एक दिन पोखरा क्षेत्र भित्रका सम्पदास्थलहरू सरसफाई गर्ने अभियान सञ्चालन गरिएको उनले बताए । कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यस अभियानले आम सर्वसाधारणमा सम्पदा सरसफाइ प्रतिको सचेतना अभिवृद्धि गराउने विश्वास व्यक्त गरे ।
नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले सम्पदास्थलको सरसफाइ सबैको सामूहिक दायित्व भएको उल्लेख गर्दै केन्द्रले सञ्चालन गरेको अभियान सह्रानीय भएको बताए । कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाजका प्रतिनिधि, स्थानीय आमा समूह लगायतको उपस्थिति थियो ।