नेपालमा उत्पादित बिजुली बंगलादेश निर्यात

नेपालमा उत्पादित बिजुली बंगलादेश निर्यात

hydropower

काठमाडौं । नेपालले आजदेखि बंगालादेशमा बिजुली निर्यात गर्न सुरु गरेको छ । नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात भएको हो । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यात शुभारम्भ गरेका हुन् ।
नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको बिजुली तेस्रो देशमा समेत विस्तार भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेश सम्म पुगेको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ ।

नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात मध्याह्न साढे १२ बजेबाट सुरु भएको हो । यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ । केन्द्रीय विद्युत प्राधिकरणले दुई आयोजनाहरूबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

बंगलादेशलाई बिजुली बेच्दा कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भई मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया