पोखरामा राष्ट्रिय कर दिवस एक सातासम्म मनाइने

पोखरामा राष्ट्रिय कर दिवस एक सातासम्म मनाइने

आयकर बढी बुझाउने करदातालाई सम्मान गरिने

vat office pokhara

पोखरा । पोखरामा राष्ट्रिय कर दिवस एक साता सम्म मनाइने भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने तयारी गरेको हो । राष्ट्रिय कर दिवस मंसिर १ देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउन लागिएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव शर्माले जानकारी दिए । यो वर्षको राष्ट्रिय कर दिवसको नारा ‘कर प्रणालीकोसार, लगानीको आधार’ भन्ने रहेको छ ।

नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउने गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार २०६९ देखि हरेक वर्ष राष्ट्रिय कर दिवस मनाउने गरिएको हो । शर्माका अनुसार मंसिर १ गते बिहान ७ः३० बजे पोखरा सभागृहदेखि सृजनाचोकहुँदै रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालयसम्म प्रभावतफेरि गरिने छ । प्रभावफेरिपछि राष्ट्रिय कर दिवसको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

मंसिर २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मा, मंसिर २ देखि मंसिर ६ गतेसम्म वस्तुगतसँघ संगठनसँग अन्तरक्रिया, कर सम्बन्धी प्रशिक्षण कार्यक्रम र संचार माध्यममा अन्तरसम्बाद कार्यक्रम हुने शर्माले बताए । मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी राष्ट्रिय कर दिवस समापन गरिने छ । आन्तरिक राजश्व कार्यालय पोखरामा सबै भन्दा बढी आय कर बुझाउने १ जना करदातालाई सम्मान गरिने शर्माले बताए ।

स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आ.व.२०७९/८० सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्यअभिबृद्धि कर विवरण र सो वापतको कर तथा ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्तसम्म छुट सुविधा दिने व्यवस्था आर्थिक ऐनले गरेको छ । कार्यालयबाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू संचालन गरिने शर्माले बताए ।

प्रतिक्रिया