नेपाली महिला टोली विश्व कप क्रिकेटमा छनोट

नेपाली महिला टोली विश्व कप क्रिकेटमा छनोट

criket woman

पोखरा । नेपाली महिला यु १९ टोली आगामी जनावरी–फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यु १९ विश्वकपमा छनोट भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्र्दै नेपाली टोली विश्व कपमा छनोट भएको हो । आइसिसी यु १९ महिला टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै रनरेटमा पनि सुधार गर्दै विश्वकपमा स्थान पक्का गरेको हो । चार टोलीबीच भएको छनोटमा नेपाल र युएईले समान ५–५ जित निकाल्दा १०–१० अंक जोडे । नेपालको रनरेट ३.९ रहदा युएईको ३.७ रह्यो ।

दुवै टोलीले एक÷एक खेलमा हार व्यहोरे । युएईले पहिलो चरणको लिगमा नेपाललाई हराएको थियो । बुधबार नेपालले युएईलाई दोस्रो चरणको लिगमा पराजित गरेसँगै रनरेटमा अघि रहन सफल भयो । निर्णायक तथा अन्तिम खेलमा युएई दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा ग¥यो । चाडै लक्ष्य पूरा गर्दा नेपालले रनरेट सुधार गर्न सफल भएको हो । त्यसअघि अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमात्र जोड्न सक्यो ।

सहभागी ४ टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुने प्रावधानमा नेपाल सफल भएको हो । कात्तिक २१ गतेदेखि भएको एसिया छनोटमा नेपालले यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई १ सय ८ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो ।

आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रन र मंगलबार भएको पाँचौँ खेलमा कुवेतलाई १ सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी थिए । अब नेपालले आगामी जनावरी–फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा प्रतिस्पर्धा गर्ने छ । समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । सन् २०२३ देखि सुरु भएको यु १९ विश्वकपको यो दोस्रो संस्करण हो । अघिल्लो संस्करणमा छनोट नभएको नेपाली महिला युवा टोलीको लागि यो पहिलो विश्व कप हुनेछ ।

प्रतिक्रिया