पोखरा । पोखरा महानगरपालिकाका पूर्ववडाध्यक्ष द्रोणराज अधिकारीको स्मृतिमा आज श्रद्धाञ्जली सभा गरिएको छ । गत कात्तिक २० गते ७२ वर्षको उमेरमा निधन भएका अधिकारीको सातौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश कमिटीका सल्लाहकार, नेकपा एमाले ज्येष्ठ कम्युनिस्ट मञ्च गण्डकी प्रदेशका सदस्यसमेत रहेका अधिकारी २०३८ देखि २०४६ सम्म तत्कालीन पोखरा नगर पञ्चायत वडा नम्बर ५ का अध्यक्ष थिए ।
अधिकारीको सम्झनामा नेकपा एमाले वडा कमिटी पोखरा–५ ले अधिकारी निवास पर्स्याङमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले द्रोणराजका राम्रा पक्षलाई हामी सबैले अनुसरण गर्नुपर्ने बताए । समाज र पार्टीमा अधिकारीले पु¥याएको अनुकरणीय कार्यहरु सधै जिवन्त रहने उनले बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापा, राजीव पहारी,सांसद दामेदार वैरागी, गण्डकी प्रदेशका मन्त्री प्रकाश केसी, प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, जिल्ला कमिटी अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, महानगर कमिटी अध्यक्ष जीवन आचार्य लगायत एमालेका नेता तथा कार्याकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा कमिटी –५ का सचिव लक्ष्मण बरालले स्वर्गीय अधिकारीको जिवनी बारे जानकारी गराएका थिए ।