काठमाडौं । कक्षा ११ र १२ विद्यार्थीले मौका परीक्षाको अवसर पाएने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ । बोर्डका अनुसार २०५६ साल यता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिएको हो ।
विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका सबैखाले विद्यार्थी मौका परीक्षामा सहभागी हुन सक्ने बोर्डले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । बोर्डको यो व्यवस्था अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएकासम्म मौका परीक्षामा सहभागी हुन पाउने छन्। विगत २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको संख्या झन्डै १४ लाखे हुनसक्ने बोर्डको अनुमान छ ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ । बोर्डले यस्ता विद्यार्थीलाई आउँदो मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न अनुरोध गरेको छ । कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा त्योभन्दा बढी र ७७ वा त्योभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा त्योभन्दा बढी र ७६ वा त्योभन्दा कम भएकालाई अन्तिम एक पटकको मौका दिइने सूचनामा उल्लेख गरिएको छ ।