पोखरा । पोखरा १४ खसीबजार चोकमा रहेको एकता बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले समृद्ध नेपाल सुखी नेपालीका’ लागि सहकारीको भूमिका महत्वपूर्ण रहने बताए । सहकारीहरुले कृषि उत्पादन, व्यवसायिकतामा जोड दिदैं मानव जीवनसँग प्रत्येक्ष जोडिँदै कारोवार गरी राष्ट्र निर्माणमा योगदान दिनुपर्ने भनाइ मन्त्री बस्यालको थियो । उनले सहकारीको अवधारणा, मुल्य- मान्यता अनि सहकारीका सात सिद्धान्तलाई मात्र टेकेर करोवार गर्ने हो भने कुनै पनि सहकारीहरु धारासायी नहुने बताए ।
पोखरा महानगरपालिका वडानं १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले आफ्नो वडामा सञ्चालित १४ वटा सहकारी जोखिम मुक्त रहेको भन्दै सहकारीलाई डुब्न नदिने बताए । उनले सबै सहकारी सक्षम रहेको भन्दै शेयर सदस्यहरुको रकम सुरक्षित राखेर व्यवसाय सञ्चालनमा ल्याउन आफू लागि परेको जानकारी गराए । सहकारीका संस्थापक अध्यक्ष बालकृष्ण काउछा मगरले एकता सहकारीले नाम जस्तै काम गरेकोमा खुशी व्यक्त गरे । सल्लाहकार नवराज सुवेदीले सहकारीमा ढुक्क भएर कारोवार गर्न शेयर सदस्यहरुलाई आव्हान गरे । शेयर सदस्य केशबराज भट्टराईले उत्पादनलाई विशेष जोडदिन सहकारी सञ्चालक सँग आग्रह गरे ।
एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुदर्शन पौडेलको अध्यक्षतामा भएको साधारण सभामा उपाध्यक्ष तिलकप्रसाद तिवारीले स्वागत मन्तव्य, सचिव रामबहादुर मगरले कार्यक्रम सञ्चालन तथा कार्यसमिति सदस्य ज्योति तामाङले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् । साधारण सभामा अध्यक्ष सुदर्शन पौडेलले प्रस्तुत गरेको सहकारीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, कोषाध्यक्ष खुमबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक विश्वनाथ ओझा द्वारा प्रस्तुत लेखा समितीको प्रतिवेदनहरु सर्वसम्मत पारित गरिएको थियो ।
सो अवसरमा जेष्ठ नागरिक सम्मान, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट कारोवारी, शेयर सदस्यका छोरा छोरी मध्येबाट कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याउने दुई जना छात्रछात्रा सम्मान एवं उत्कृष्ट कर्मचारी सम्मानबाट विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । साधारण सभामा लेखा सुपरिवेक्षण समितिमा रिक्त रहेको एक सदस्यमा शेयर सदस्यहरु मध्येबाट श्रीराम सिग्देललाई छनोट गरि पदपूर्ति गरिएको थियो ।