पूर्णबहादुरको सारंगीको नयाँ रेकर्ड, एकै दिन ३ सय ८० बढी शो

पूर्णबहादुरको सारंगीको नयाँ रेकर्ड, एकै दिन ३ सय ८० बढी शो

purna-bahadurko-sarangi
पोखरा । पूर्णबहादुरको सारंगी चलचित्र यतिबेला चर्चाको शिखरमा छ । चलचित्रले दर्शकको अभूतपूर्व माया पाएको छ । गन्धर्व परिवारको कथावस्तुमा आधारित चलचित्रले एकै दिन बढी शो पाउने चलचित्रको रेकर्ड समेत बनाएको छ । चलचित्रमा एउटा बुबाले छोराको सफलताका लागि गरेको संघर्षलाई देखाइएको छ ।काठमाडाै‌, पोखरा  लगायतका मुख्य सहरहरुमा चलचित्र उत्साहजनक रुपमा प्रदर्शन भइरहेको छ ।
एक हप्तादेखि प्रदर्शनमा रहेको चलचित्रले बिहीबार नेपालभरका हलमा ३ सय ८० भन्दा बढी ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको छ । यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३ सय ३५ शो पाएर कीर्तिमान बनाएको थियो । तर, एक महिनाभित्रै उक्त रेकर्ड ब्रेक भएको हो ।
चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार विजय बरालले काठमाडौं उपत्यकामा १ सय ८० र उपत्यका बाहिरका २ सय गरी देशभरका ८९ हलमा ३ सय ८० भन्दा बढी ‘शो’ पाएर चलचित्र उत्साहजनक रूपमा प्रदर्शन भइरहेको जानकारी दिए । हालसम्म चलचित्रले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै आठ करोड २५ लाख संकलन गरेको प्रारम्भिक विवरण प्राप्त भएको पनि बरालले जानकारी दिए ।  करिव डेढ कराेडको लागतमा चलचित्र बनेकाे निर्माण पक्षको भनाइ छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बराल मुख्य भूमिकामा छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी, जान्वी पौडेललगायतको यसमा अभिनय रहेको छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रतिक्रिया