नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव

नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव

blood

पोखरा । चाड पर्वको सयममा पोखरामा रगत अभाव भएको छ । चाडपर्वले रक्तदान र संकलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले बताएको छ ।

दसैंका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेंगीका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ । रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र बटुवाहरुलाई रगत दिन आग्रह गरिएको थियो ।

केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा १ सय ३१ युनिट रगत संकलन भएको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । डेंगी सङ्क्रमण बढेकाले ‘प्लेटलेट रिच प्लाज्मा’को माग बढिरहेकाले ‘फ्रेस रगत’का लागि दैनिक रगत संकलन गर्नुपर्ने अवस्था आएको उनको भनाइ । लायन्स क्लब अफ आदर्श चौतारीका अध्यक्ष सूर्य पोखरेलले रक्तसञ्चारको आह्वानपछि रक्तदान कार्यक्रम गरिएको बताए । प्रदेशको राजधानी रहेकाले पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया