पोखरा । लमजुङबाट संघीय संसदमा निर्वाचित पृथ्वीसुब्बा गुरुङसहित गण्डकी प्रदेश सभामा प्रत्यक्ष निर्वाचित २ जना सांसद मन्त्री नियुक्त भएका छन् । लमजुङबाट निर्वाचित प्रदेश सांसद भेषबहादुर पौडेल आज वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका हुन् । उनको नियुक्तीसँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई आज मन्त्रीमा नियुक्त गरेका हुन् । पौडेलले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सथप खुवाएका हुन् ।
पौडेल लमजुङ कांग्रेसका निवर्तमान सभापति पनि हुन् । उनी पार्टीभित्र शेखर समूहमा छन् । पार्टीभित्रबाट भागबन्डा लगाउँदा कम्तीमा १ जना मन्त्री शेखर समूहले पाउनुपर्ने दाबी थियो । मुख्यमन्त्री पाण्डेले लामो आलटालपछि पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
लमजुङबाटै निर्वाचित डाक्टर टकराज गुरुङ गण्डकी सरकारमा आर्थिक मामिला मन्त्री छन् । प्रदेशमा लमजुङबाट प्रत्यक्ष निर्वाचित दुवै सांसद मन्त्री भएका छन् । भौतिक मन्त्रालयबाट राजीव गुरुङ उर्फ दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा सारेपछि उनले तत्कालै राजीनामा दिएका थिए । भागबन्डा मिलाउन ७ मन्त्रालयबाट ९ बनाएपछि कांग्रेसको भागमा परेको ५ मन्त्रालयभित्रबाट भदौ १७ गते मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीमा निरन्तरता दिएका थिए । कांग्रेसकै भागबाट नेपाल समाजवादी पार्टी सांसद फणीन्द्र देवकोटा भने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री छन् ।
एमालेबाट नवलपुरकी पद्मा जिसीले कृषि मन्त्रालय लिँदै नेतृत्व गरेर सरकारमा गएकी हुन् । एमालेबाट स्वास्थ्य मन्त्रीमा बागलुङका कृष्ण पाठक, पर्यटन मन्त्री पर्वतका मित्रलाल बस्याल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा कास्कीका प्रकाशबहादुर केसी छन् ।
संघीय संसदमा एउटा मात्रै क्षेत्र भएको लमजुङबाट नेकपा एमालेबाट निर्वाचित पृथ्वीसुब्बा गुरुङ सूचना तथा सञ्चार प्रविधि मन्त्री छन् । नेपाली कांग्रेस र एमालेको सत्ता साझेदारीपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङलाई गत असारमा सञ्चार मन्त्रीका नियुक्त गरेका हुन् । गुरुङ गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत हुन् । लमजुङ तीन वटा मन्त्री पाएको छ ।
This will close in 5 seconds