धनुषा । धनुषाको जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा आज कोजाग्रत (कोजागरा) पर्व मनाइने भएको छ ।
हिन्दू धर्मावलम्बीले मिथिलामा हिजो सो पर्व मनाएको भएपनि जानकी मन्दिरमा आज मनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । उनका अनुसार यस अवसरमा महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित रतौलीका स्व. ब्रह्मदेव ठाकुरको घरबाट प्रत्येक वर्षझैँ यसपाली पनि एक सय सात पाहुर (भार) जानकी मन्दिरमा ल्याइनेछ ।
मन्दिरको पाहुरमा पान, मखान, लड्डु, खाजा, दही, चावल, दाल, तरकारीका अतिरिक्त रामजानकीको लुगा रहनेछ । स्व ब्रह्मदेव ठाकुर परिवारका सदस्य नवीन ठाकुरले वर्षौंदेखिको परम्परालाई निरन्तरता दिइने बताए । यो परम्परा एक सय सात वर्षदेखि चल्दै आएको उनले बताए ।
जानकी मन्दिरका महन्त तपेश्वर दास वैष्णवका अनुसार कोजाग्रत महोत्सवमा रामजानकीको चुमाओन (विशेष पूजा) गरिन्छ । उक्त पूजा आकर्षक हुने गर्छ ।