साफ च्याम्पियनसिप महिला फुटबल भोलिदेखि काठमाडौंमा, ७ देश सहभागी

साफ च्याम्पियनसिप महिला फुटबल भोलिदेखि काठमाडौंमा, ७ देश सहभागी

nepali_women_football_team_948633437

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । भोलिदेखि कात्तिक १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकराी दिएको छ ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भुटान र बंगलादेश सहभागी छन् । उक्त प्रतियोगिताको लागि पाकिस्तान, माल्दिभ्स र बङ्गलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली आज काठमाडाँै आइपुग्ने एन्फाले जनाएको छ । सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले जानकारी दिए ।

प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्यारापिटतर्फ तीन सय र भिआइपीतर्फ पाँच सय तोकिएको छ  । त्यस्तै नकआउट चरणका खेलहरूको टिकट दर साधारण प्यारापिटतर्फ  पाँच सय र भिआइपीतर्फ रु एक हजार कायम गरिएको छ । प्रतियोगिताको खेल हेर्न १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइने एन्फाले जनाएको छ ।

नेपालले साफ खेलका लागि  एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको छ ।  मुख्य प्रशिक्षक  राजेन्द्र तामाङले  व्यवसायिक फुटबलका लागि देश बाहिर रहेका सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेललाई पनि टोलीमा समेटेका छन् । नेपाली महिला फुटबल टोलीमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी,सजनी थोकर रहेका छन् ।

सन् २०१० बाट सुरु भएको दक्षिण एसियाली राष्ट्रहरू मध्ये अफगानिस्तान बाहेक ७ टोलीको सहभागिता रहने साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन । यसअघिका ६ मध्ये ५ पटक फाइनल खेल्दा सबैमा नेपाल उपविजेता भएको थियो । २०१६ को चौथो संस्करणमा बाहेक नेपालले सबैमा फाइनल खेलेको थियो । दुई वर्षअघि नेपालमै भएको पछिल्लो संस्करणमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

नेपालले आफ्नो पहिलो खेल  भुटानसँग कात्तिक २ गते खेल्नेछ । उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुनेछ । समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ । अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् । समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा ९ तथा  २ सेमिफाइनल र फाइनल गरी साफको सातौं संस्करणमा १२ खेल हुनेछन् ।

प्रतिक्रिया