पोखरा । डेंगी रोग लागेर गण्डकी प्रदेशमा ७ जनाको ज्यान गएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीका ५ तथा तनहुँ र म्याग्दीका १ जनाको मृत्यु भएको हो ।
गत पुस यता गण्डकीमा १२ हजार ७ सय २६ जनामा डेंगी पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए । उनका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेंगी सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै अहिले सम्म ६ हजार ४ सय ५२ जनामा डेंगी पुष्टि भएको छ ।
शर्माले गत जुलाईयता सङ्क्रमण दर बढ्दै गएको बताए । तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो । तनहुँमा २८ सय ६१, पर्वतमा १ हजार एक सय ४६, गोरखामा छ सय ६४, बागलुङमा ५ सय ३९, स्याङ्जामा ४ सय ४३, म्याग्दीमा २ सय १३, नवलपुरमा १ सय ८१, लमजुङमा १ सय २० र मुस्ताङमा नौ जनामा डेंगी पुष्टि भएको हो ।
असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेंगी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । डेंगी सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने चिकित्सकके भनाइ छ ।
प्रकाशित मिति २०८१ असोज २३