पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आज अदालत पेश गरिने भएकाे छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर हिजाे राति पोखराहुँदै बागलुङ लगिएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार नेपालीलाई आज अदालत पेश गरिने छ । सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी अपचलन गरेको अभियोग लागेका उनी डेढ वर्षदेखि फरार रहेका थिए ।
नेपालीलाई प्रहरीले इन्टरपोलको समन्वयमा शुक्रबार नयाँ दिल्लीबाट पक्राउ गरेको थियो । पोखरा र बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष तथा पोखरामा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति उपाध्यक्ष रही सहकारीको १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ ।
सोही प्रकरणमा मेयर नेपालीसँगै बागलुङको बुर्तिबाङका ५८ वर्षीय ओमप्रसाद दर्जीलाई समेत पक्राउ गरी बागलुङ पठाइएको छ । ०७९ को निर्वाचनमा ढोरपाटनको मेयर बनेका नेपालीले सहकारीको अध्यक्षका रुपमा बचत रकम अपचलन गरेको खुलेपछि उनीविरुद्ध बचतकर्ताले उजुरी दिएका थिए ।
उक्त सहकारीले २०८० वैशाख ७ मा अकस्मात् ‘तरलता अभावले’ कारोबार बन्द गरिएको भन्दै सूचना टाँसेपछि नेपालीसहितले गरेको ठगी सतहमा आएको थियो । अध्यक्ष नेपाली त्यही बेलादेखि श्रीमतीसहित सम्पर्कविहीन भएका थिए । प्रहरीले मेयर नेपालीसमेत ८ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा बागलुङ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । उनले आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्न आफू तयार रहेको बताउँदै वातावरण मिलाइदिन उनले पटक पटक अपील समेत गरेका थिए ।