अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्य दूतावास खाेल्ने प्रमको प्रतिबद्धता

अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्य दूतावास खाेल्ने प्रमको प्रतिबद्धता

californiya-scaled

न्युयोर्क असोज ८ । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न संगठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेका थिए । प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाए । नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सन फ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपालीहरुले काग गरेका हुन् ।

महावाणिज्य दूतावास स्थापना भए राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले नेपाली समुदायले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह रहेका हुन् । प्रवासी नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घको सहभागिता र अमेरिका भ्रमण सफलताको कामना गर्दै नेपालको समृद्धि र विकासका लागि प्रवासमा रहेका नेपालीले पनि भूमिका खेल्ने जनाएका थिए । प्रधानमन्त्री ओलीले नेपालीहरु जहाँ रहेपनि शिष्ट र मर्यादित हुनुपर्नेमा जोड दिँदै गैरआवासीय नेपाली संघभित्र पनि विवाद भइरहने स्थिति अन्त्य हुनुपर्ने बताए ।

नेपाली सोसाइटी अफ टेक्सस र नेप्लिज अर्गनाइजेसन अफ टेक्सस एन्ड सायदेन युनाइटेड स्टेट्सले प्रधानमन्त्री ओलीलाई भेटेर टेक्ससमा पनि नेपाली महावाणिज्यदूतावास खोल्न माग गरेका छन् । ती संस्थाले त्यहाँ कन्सुलर कार्यालय खोल्नका लागि निःशुल्क कार्यालय उपलब्ध गराउने अवगत गराएका छन् । प्रधानमन्त्री ओलीले त्यसबारे आवश्यक छलफल गर्ने बताए ।

 क्यानडामा रहेका नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह गरेका छन् । अहिले भारतमा गएर नेपालीले क्यानाडाको प्रवेशाज्ञा लिनुपर्नेलगायत समस्या भएकाले नेपालमा दूतावास खोल्नुपर्ने उनीहरुको आग्रह थियो । प्रम ओलीले यसबारेमा पहल गर्ने बताएका थिए ।

प्रतिक्रिया