पोखरा ७ असोज । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । प्रहरीले १० दिनको समय माग गरे पनि कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडैलको इजलाशले ५ दिनका लागि म्याद थप गरेकाे हाे ।
प्रहरीले जोशीमाथि अनुसन्धानका लागि म्याद थप गर्न आज सोमबार अदालतमा उपस्थित गराएको हो । जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी साँझ पोखरा ल्याइएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको हो । जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्की स्रोतले बताएको छ ।