गुल्मीमा स्कारपियाे दुर्घटना हुँदा ६ जनाको मृत्यु

गुल्मीमा स्कारपियाे दुर्घटना हुँदा ६ जनाको मृत्यु

Accident-gulmi-

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकामा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ। स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सतर्फ जाँदै गरेको बा ०२२० नम्बरको गाडी कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा ज्यान गएको छ।

घटनास्थलमा ज्यान गुमाउनेहरूमा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल स्याङ्जाको वालिङमा बस्ने अन्दाजी ५० वर्षीय लोकनाथ पाण्डे, त्यही ठाउँकी सीता पाण्डे र उमेर नखुलेका कुलानन्द पाण्डे छन्। यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय चालक दिलीपकुमार बगाले र वालिङ–१० का ६० वर्षीय शिव पराजुलीको पनि दुर्घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुदीप नेपालीले बताए।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी वालिङ–२ की नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा ज्यान गएको हो। दुर्घटनामा परी गुल्मीको कालीगण्डकी–१ सिरकोटका छविलाल पाण्डे, स्याङ्जाको वालिङकी अन्दाजी ५५ वर्षीया गोमता पाण्डे र वालिङ–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।

घाइतेमध्ये गुल्मीका पाण्डे र स्याङ्जाका सुवेदीको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचार भइरहेको छ भने गोमताको मिसन अस्पताल पाल्पामा उपचार जारी रहेको प्रहरीले जनाएको छ। सोमबार बेलुकी ४ बजेतिर भएको यो दुर्घटनामा गाडी सडकबाट २०० मिटरभन्दा तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। घटनालगत्तै जिल्लाका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्मा नेतृत्वको टोली उद्धारका लागि खटिएको थियो।

प्रतिक्रिया

भर्खरै