गण्डकी प्रदेशमा असोजमा भएका सवारी दुर्घटनामा ३६ जनाको मृत्यु

गण्डकी प्रदेशमा असोजमा भएका सवारी दुर्घटनामा ३६ जनाको मृत्यु

accident_UPDhwBMd6M

पोखरा ।  असोज महिनामा गण्डकी प्रदेशमा १ सय ७३ वटा सवारी दुर्घटना  हुँदा  ३६ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले सार्वजनिक गरेको असोज महिनाको विवरण अनुसार दुर्घटनाका कारण २ सय ९१ जना मानिस घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा ५१ पुरुष, १० महिला, १० बालक र १० बालिका गरी जम्मा ८१ जना छन् । त्यसैगरी सामान्य घाइते हुनेमा १ सय ३९ पुरुष, ५२ महिला, ९ बालक र १० बालिका गरी जम्मा २१० जना छन् । मृत्यु हुने ३६ जनामा २२ पुरुष, ७ महिला, ३ बालक र ४ बालिका रहेका छन् । दुर्घटनामा परेर २ सय ३४ वटा सवारी साधनहरू संलग्न रहेको विवरणमा उल्लेख छ ।सवारी दुर्घटना हुनुका विभिन्न कारणहरू पनि औंल्याइएको छ । चालकको कारणले १ सय ४६, सवारी साधनको कारणले १२, सडक प्रयोगकर्ता वा यात्रीको कारणले ६, सडकको अवस्थाको कारणले ५ र मौसमको कारणले १ वटा दुर्घटना भएको पाइएको छ । तिव्र गति, मादक पदार्थ सेवन, ब्रेक फेल र जथाभावी बाटो काट्ने प्रवृत्तिका कारण धेरै दुर्घटनाहरू हुने गरेको सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए ।

ट्राफिक नियम उलंघन गर्ने सवारी साधनहरूमाथि कारबाही पनि तीव्र पारिएको छ । असोज महिनामा गरिएको ट्रफिक चेकिङका क्रममा ११ हजार २ सय २८ वटा कारबाहीबाट १ करोड २ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी नेपाल प्रहरीले दुर्घटनामा परेका २९१ जनाको उद्धार गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतनाका लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिएको कार्यालयले जनाएको छ । चालक र यात्रु लक्षित सचेतना कक्षा, विद्यालयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमहरू मार्फत हजारौं नागरिकहरू लाभान्वित भएका छन् । चाडपर्वको समयमा हुन सक्ने दुर्घटना र कालोबजारी रोक्न ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८३’ तयार गरी कार्यान्वयन गरिएको छ । ‘चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना, टिकटमा कालोबजारी जस्ता कार्यलाई निरुत्साहित पार्न यस कार्यालयबाट चाडपर्व लक्षित सुरक्षा योजना २०८३ तयार गरी सोही बमोजिम काम कारबाही भइरहेको छ,’ कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

भर्खरै