पोखरा । आज विजयादशमीको टीकाको तेस्रो दिन । दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी छ। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्।

बडादसैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर टाढा रहेका माइती, मावली तथा आफन्तकहाँ विजयादशमीकै दिन पुगेर टीका थाप्न सम्भव नहुने भएकाले त्यसपछिका दिनमा पनि टीका लगाउने चलन छ ।
दसैँको टीका लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ। दशमीका दिन टीका लगाउन नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू त्यसपछिका दिनमा मान्यजनकहाँ पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गर्छन् । परपर रहेका माइती–मावली तथा आफन्तकहाँ पुग्न समय लाग्ने भएकाले पूर्णिमासम्म टीका लगाउने परम्पराले भेटघाटको अवसर जुटाउँछ। यस अवधिमा घरघरमा आफन्त आउने र टीका थाप्ने क्रम चलिरहन्छ ।
दसैँको टीका केवल धार्मिक परम्परामा सीमित छैन । यसले परिवार तथा आफन्तबीचको सम्बन्धलाई नवीकरण गर्ने, आशीर्वाद लिने र खुसी साटासाट गर्ने अवसर पनि प्रदान गर्छ । विजयादशमीको दिन छुटेका आफन्तले समेत कोजाग्रत पूर्णिमासम्म टीका लगाउन पाउने भएकाले दसैँको पारिवारिक रौनक केही दिनसम्म कायम रहन्छ ।