काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि परिचालित प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले राहत तथा उद्धारका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो।

सरकारको आह्वानपछि स्वदेश तथा विदेशबाट रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा जम्मा भएको हो। कोषमा मौज्दात रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ रहेको छ। त्यसैगरी, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ।
रसुवासहित बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढीपछि सरकारले प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि सहयोग जुटाउन सार्वजनिक रुपमा आह्वान गरेको थियो।त्यसपछि विभिन्न व्यक्ति, संघसंस्था तथा स्वदेश र विदेशमा रहेका नेपालीबाट सहयोग रकम संकलन भई कोषमा दाखिला भएको हो।कोषमा रहेको रकममध्ये प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आवश्यकताअनुसार रकम निकासा हुँदै आएको छ।