पोखरा चाउथेको पोखरा पब्लिक स्कुलले गर्‍यो बाढी पीडितलाई साढे चार लाख सहयोग

पोखरा चाउथेको पोखरा पब्लिक स्कुलले गर्‍यो बाढी पीडितलाई साढे चार लाख सहयोग

pokhara public school news.photo

पोखरा । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको राहतका लागि पोखराको चाउथेस्थित अनुपम टोलमा रहेको पोखरा पब्लिक स्कुलले साढे चार लाख रुपैंयाँ  सहयोग गरेको छ । विद्यालयको पहलमा संकलित ४ लाख ६७ हजार ४ सय ८९ रुपै‌याँ बाढी पीडितको लागि सहयोग गरिएको  विद्यालयका  संस्थापक प्रचार्य कृष्ण केसीले जानकारी दिए ।

संकलित रकममध्ये विनासकारी बाढीमा परी बेपत्ता भएका विद्यालयका दुई जना अभिभावक—कक्षा २ ‘सी’ का विद्यार्थी प्रितम ज्ञामी तथा एलकेजी ‘बी’ की विद्यार्थी प्रीतिषा ज्ञामीका बुबा प्रमोद ज्ञामी र एलकेजी ’बी’ का विद्यार्थी सुहान तामाङका बुबा सुवास तामाङको परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले  ५० हजार रुपैयाँ राहत स्वरूप हस्तान्तरण र  बाँकी रकम ४ लाख १७ हजार ४ सय ८९ रुपैयाँ  प्याब्सन कास्कीमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा पठाइएको केसीले बताए ।स्वेच्छिक रूपमा संकलन गरिएको राहत कोषमा विद्यार्थीहरूबाट १ लाख २२ हजार ५ सय १० रुपैयाँ, अभिभावकहरूबाट ६८ हजार २ सय ७५ रुपैयाँ र शिक्षक तथा कर्मचारीहरूका तर्फबाट १ लाख ५१ हजार ७ सय ४ रुपैयाँ जम्मा भएको थियो । साथै, पोखरा पब्लिक स्कुलका तर्फबाट १ लाख २५ हजार रुपैंयाँ कोषमा योगदान गरिएको थियो।

विपतका बेला सामाजिक उत्तरदायित्व वहन गर्दै सम्पूर्ण विद्यालय परिवारको सक्रियतामा सहयोग संकलन गरिएको हो । ‘प्राकृतिक विपत्तिको यो कठिन अवस्थामा पीडितहरूलाई मल्हम लगाउन सकियोस् भन्ने उद्देश्यले सहयोग जुटाउन विद्यालय परिवार एकजुट भएका हौँ,’ प्राचार्य केसीले भने, ‘हाम्रै विद्यालयका अभिभावकहरू गुमाउनुपरेको दुःखद क्षणमा परिवारजनप्रति सहानुभूति प्रकट गर्दै सहयोग हस्तान्तरण गरेका छौँ। राहत अभियानमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारी धन्यवादका पात्र हुनुहुन्छ।’

अहिले मात्र नभएर वितगका वर्षहरुमा पनि मानवीय सहयोग र सामाजिक कार्यमा पोखरा पब्लिक स्कुलको भूमिका प्रशंसनीय छ ।

प्रतिक्रिया

भर्खरै