पोखरा ल्याइएका ७६ शव व्यवस्थापन, २१ को सनाखत, ५ अस्पतालमै

पोखरा ल्याइएका ७६ शव व्यवस्थापन, २१ को सनाखत, ५ अस्पतालमै

sab

पोखरा। बाढीपहिरोका कारण ज्यान गुमाएर पोखरा ल्याइएका १०२ जनामध्ये पहिचान हुन नसकेका ७६ शव जमिन मुनि गाडेर व्यवस्थापन गरिएको छ ।

पोखरा ल्याइएका शव सोमबार पोस्टमार्टम सकेपछि पहिचान हुन नसकेका शव मंगलबार पोखरा १६ दीपस्थित सेती नदी किनारको जंगलमा व्यवस्थापन गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र मणिपाल शिक्षण अस्पतालमा राखिएका शवहरु सो क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्रांगत बरालले जानकारी दिए । व्यवस्थापन गरिएका सबै शवको डिएनएका लागि नमुना राखिएको छ । परीक्षणबाट पुष्टि भएमा गाडिएको ठाउँबाट निकालेर परम्परा अनुसार अन्तिम संस्कार गर्न आफन्तले पाउनेछन् ।

गएको १० भदौमा रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको बाढीमा परी ज्यान गुमाएका व्याक्तिहरुको शव पोखरा ल्याइएको थियो । गण्डकी प्रदेश र धादिङस्थित नदी किनारमा भेटिएका शव व्यवस्थापनमा सम्बन्धित जिल्लाहरुमा समस्या भएपछि पोखरा ११ गतेदेखि नै पोखरा ल्याउन सुरु गरिएको थियो । अस्पतालको तथ्यांक अनुसार गैंडाकोटबाट ४१ जनाको शव पोखरा ल्याइएको थियो । यस्तै धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ जनाको शव प्राप्त भएको छ ।पोखरा ल्याइएको शव पोखरा स्वास्थ्य प्रतिष्ठानको शवगृहमा राखिएको थियो । प्रतिष्ठानले ११ भदौदेखि नै शवहरुको परीक्षण, पहिचान र पोस्टमार्टम गरी परिवारलाई बुझाउने कार्य सुरु गरेको थियो । प्राप्त शवहरुमध्ये सोमबार सबैको पोस्टमार्टम गरिएको प्रवक्ता बरालले जानकारी दिए ।

अस्पतालले शव पहिचानमा सहज होस् भनेर गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको परिसरमा हेल्प डेस्क समेत स्थापना गरेको थियो । त्यहाँ परिवारका सदस्यले मृतकको तस्बिर हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको थियो । पहिचान भएका शवहरुलाई कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको थियो । सोमबारबाट नै पहिचान गर्न आउने आफन्तको संख्या पातलिँदै गएको र शव गलिसकेकाले व्यवस्थापनको प्रक्रिया अघि बढाइएको प्रवक्ता बरालले बताए ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds