आगामी मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक

आगामी मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक

rastrabank

काठमाडाैं । आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले सुझाव पेस गर्न आह्वान गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरोकारवालाबाट राय तथा सुझाव माग गरेको हो । सरकारले १५ जेठमा जारी गरेको आगामी बजेटलाई सघाउ पुर्‍याउने गरी राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम आगामी आर्थिक वर्षको नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढेको हो । राष्ट्र बैंकको

आर्थिक अनुसन्धान विभागद्वारा सूचना जारी गर्दै सरोकारवाला, विज्ञ तथा सर्वसाधारणलाई सुझाव पठाउन अनुरोध गरेको छ । ५ असारसम्म सुझाव पठाइसक्न राष्ट्र बैंकले समयसीमा तोकेको छ । बजेटले लिएका आर्थिक लक्ष्यहरूलाई सघाउने गरी राष्ट्र बैंकले हरेक वर्ष साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । यसलाई सघाउन केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याउनुपर्ने जानकारहरू बताउँछन् ।

पछिल्लो समय बैंकिङ प्रणालीले अधिक तरलता खेप्दै आएको छ । आर्थिक गतिविधि चलायमान नहुँदा कर्जाको मागसमेत बढ्न सकेको छैन । १८ जेठसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८० खर्ब सात अर्ब रुपैयाँ कायम छ । कर्जा प्रवाह भने ५८ खर्ब ९५ अर्ब छ । कर्जा निक्षेपको अनुपात ७२.९५ प्रतिशत छ ।

सुविधाजनक विदेशी मुद्रा सञ्चिति रहेको अवस्थामा केन्द्रीय बैंकले सरकारलाई सघाउने उद्देश्यले लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको हो । ०८२ चैत मसान्तमा विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड पुगेको छ । यो सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यसपटक समयमै मौद्रिक नीति ल्याउने तयारी गर्दै राष्ट्र बैंकले जेठ महिनामै राय–सुझाव संकलनको कामलाई तीव्रता दिएको हो ।

प्रतिक्रिया