पोखरा । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडबाट १६ जना महिलाहरु पक्राउ परेका छन् । रातको समयमा आन्तरिक एवं वाह्य पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा एकैपटक यति ठूलो संख्यामा महिलाहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट गएराति खटिएको प्रहरी टोलीले राति साढे १२ देखि राति २ बजेसम्म लेकसाइडमा छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार उनीहरुले पर्यटकलाई विभिन्न किमिसका प्रलोभन देखाई अनावश्यक दुःख दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलापमा गर्ने गरेको पाइएको छ । पक्राउ परेकाहरुमध्ये छ÷सात जना ‘पटके’ पनि छन् ।
उनीहरुलाई अभद्र व्यवहारमा मुद्दा नै चलाइने तयारी छ । केही १८ वर्षभन्दा कम उमेरका पनि भएकाले पोखरा–३३, भरतपोखरीस्थित पुनस्र्थापना केन्द्रमा पठाइएको छ । साथै, केहीलाई तारेखमा राखिएको छ भने केहीलाई अभिभावकको रोहवरमा सम्झाइबुझाइ छोडिने वडा प्रहरी कार्यालय, बैदामका इन्चार्ज डिएसपी नमराज भट्टराईले जानकारी दिए ।
गएराति पक्राउ परेका महिलाहरुमध्ये अधिकांशले पोखरा घुम्न आउने पर्यटकसँग नजिकिन खोज्ने र उनीहरुसँग अनैतिक सम्बन्ध राख्न खोज्ने गरेको पाइएको छ । यतिसम्मकै केही पर्यटकसँग रकम असुल उपर गर्ने, केहीसँग अनैतिक सम्बन्धका लागि सुरुमा रकम बुझे पनि होटलनजिक पुग्नेवित्तिकै आफ्नो श्रीमान् आएको भन्दै उम्किने गरेकोसम्म भेटिएको डिएसपी भट्टराईले बताए । डिएसपी भट्टराईले पर्यटकीय राजधानी पोखरा, त्यो पनि प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा विकृति– विसंगति रोक्न अभियान नै सुरु गरिएको बताए । पोखराको छवि सुधार्न र पर्यटकलाई सुरक्षित बसाइँका लागि सुनिश्चित गर्न प्रहरीको यो अभियानले सघाउ पुग्ने पोखरेलीले विश्वास गरेका छन् ।