सभामुखका लागि आज उम्मेदवारी दर्ता, २२ गते निर्वाचन

सभामुखका लागि आज उम्मेदवारी दर्ता, २२ गते निर्वाचन

samsad

काठमाडाैं । रास्वपाले प्रतिनिधिसभाको सभामुखको उम्मेदवारमा उपसभापति डिपी अर्याललाई अघि सारेको छ। रास्वपा संसदीय दलको बिहीबारको बैठकले अर्याललाई सर्वसम्मत रूपमा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सभापति रवि लामिछानेले सभामुखका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए।

सभामुखको निर्वाचन आइतबार हुँदै छ। प्रतिनिधिसभामा रास्वपाको १८२ सिटसहित झन्डै दुईतिहाइ बहुमत भएकाले अर्याल सभामुख हुने पक्कापक्की छ। सभामुख र उपसभामुख पदको निर्वाचन सभाको पहिलो बैठक बसेको १५ दिनभित्र गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचनका लागि २० चैत शुक्रबार उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ। शुक्रबार बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। सोही दिन साढे २ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ । २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ताक्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै, रिक्त राष्ट्रिय सभा उपाध्यक्षका लागि २३ चैतमा निर्वाचन हुँदै छ। २२ चैतमा मनोनयन प्रस्ताव दर्ता गराउनुपर्नेछ । उपाध्यक्ष विमला घिमिरे कार्यकाल सकेर २० फागुनमा बिदा भइसकेकी छिन्।

राष्ट्रिय सभाका रिक्त समिति सभापतिको निर्वाचन २४ चैतमा हुँदै छ । २३ चैतमा मनोनयन प्रस्ताव दर्ता गराउनुपर्नेछ । राष्ट्रिय सभाका चारवटै समिति सभापति रिक्त छ । विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायक व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रिक्त छ । राष्ट्रिय सभामा कांग्रेस २४, नेकपा १८ (अध्यक्षसहित), एमाले ११ (एक मनोनीत), जसपा दुई, लोसपा, जनमोर्चा एक–एक सदस्य छन् ।

प्रतिक्रिया