एसइईको उत्तरपुस्तिका ३ दिनभित्र परीक्षा सेन्टरमै परीक्षण गरिने

एसइईको उत्तरपुस्तिका ३ दिनभित्र परीक्षा सेन्टरमै परीक्षण गरिने

see exam

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्र (सेन्टर) मा नै परीक्षण गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तरपुस्तिका ३ दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा सचिव चुणामणि पौडेलले बताए ।

‘यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ । केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था आएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा ल्याएर परीक्षण गराउन सकिन्छ,’ उनले भने । उत्तरपुस्तिका परीक्षा सेन्टरमै परीक्षण गराउने कि इकाईमा ल्याएर परीक्षण गर्ने विषयमा सम्बन्धित इकाईलाई नै निर्णय गर्ने अधिकार दिइएको बोर्डले जनाएको छ । ‘तोकिएको समयभित्रै उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क बोर्डमा पठाउनुपर्छ,’ बोर्डका उपाध्यक्ष समेत रहेका शिक्षा सचिव पौडेलले भने, ‘परीक्षा सकिएको ३ दिनभित्र परीक्षण सक्न सर्कुलर गर्दैछौं ।’

उत्तरपुस्तिका परीक्षण सकिएपछि इकाईले विद्यार्थीको प्राप्ताङ्क बोर्डमा पठाउने निर्णय गरिएको छ । त्यसपछि विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गरेर नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय भएको उनले बताए । उक्त कार्यतालिकाअनुसार वैशाख मसान्तसम्म एसईईको नतिजा प्रकाशन हुनेछ ।

देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । अघिल्ला वर्षहरूमा केन्द्रबाट उत्तरपुस्तिका इकाईले संकलन गरी अन्तर जिल्ला र प्रदेशमा परीक्षण गर्ने गरिएको थियो । कुन परीक्षा केन्द्रको उत्तरपुस्तिका कहाँ परीक्षण हुने विषय गोप्य रहने गरेको थियो । त्यसो गर्दा नतिजा प्रकाशन गर्न औसतमा साढे दुई महिनाभन्दा बढी समय लाग्ने गरेको थियो । तर यसपटक शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रै नतिजा प्रकाशन गर्न निर्देशन दिएपछि बोर्डले परीक्षा सेन्टरमा नै उत्तरपुस्तिका परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।

बिहीबारबाट सुरु हुने एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले परीक्षा दिँदैछन् । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक टुकाराज अधिकारीले जनाए । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुने अधिकारीले बताए ।

प्रतिक्रिया