बालेन प्रधानमन्त्रीमा निर्विकल्प बन्दा गृह मन्त्रालयमा किचलो

बालेन प्रधानमन्त्रीमा निर्विकल्प बन्दा गृह मन्त्रालयमा किचलो

balen shaha

काठमाडाैं ।  एकल बहुमतको सरकार बन्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई निर्विकल्प प्रस्तुत गरे पनि गृह मन्त्रालयका कारण सरकार गठनको रूपरेखा तयार हुन सकेको छैन । झन्डै दुईतिहाइ जनादेशसहित सरकार गठन तयारीमा जुट्दै गर्दा गृह मन्त्रालय सम्हाल्ने र तत्काल पूरा गर्नुपर्ने कार्यभार र चुनौती विषयले रास्वपामा ‘ तनाव’ बढेको छ ।

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनदेखि ‘फास्ट एक्सन’ अनुभूति दिलाउने भएकाले गृह मन्त्रालयको नेतृत्व लिने विषयमा रास्वपाभित्रै विवाद छ । गृह मन्त्रालय सम्हाल्ने विषयमा पार्टीभित्र सम्भावित उम्मेदवारको नाममा विवाद भएको हो । रास्वपा उपसभापति डीपी अर्याल र सहमहामन्त्री सुनिल लम्साललाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।

रास्वपा सभापति रवि लामिछानेनिकट समूहले उपसभापति अर्याललाई गृहमन्त्रीका रूपमा अगाडि सारेका छन् भने अर्याल नेतृत्वले पार्टीभित्र बरीयतासमेत सहज हुने व्याख्या छ । प्रधानमन्त्रीका रूपमा निर्विवाद अगाडि सारिएका शाह भने अनुकूल युवा र ऊर्जाशील टिम बनाउने तयारीमा छन् । उनले लम्साल, सस्मित खरेल र राजुनाथ पाण्डेसमेतको नाम सम्भावित सूचीमा राखेर छलफल चलाएका हुन् ।

प्रधानमन्त्रीका रूपमा आफू रहँदै गर्दा शतप्रतिशत विश्वास गर्नसक्ने बालेनका ‘राइट ह् यान्ड’ रुपन्देही क्षेत्र नम्बर–१ बाट जितेका लम्साल हुन् । ‘बालेन शैलीमै चुपचाप परिणाम निकाल्ने व्यक्ति’ भनेर चर्चा गरिने लम्सालपछिका पोखरेल पनि उत्तिकै सम्भावित व्यक्ति हुन् । काठमाडौं महानगरपालिकामा पूर्वाधार विज्ञका रूपमा रहेका लम्साल र शिक्षाविज्ञ पोखरेल ‘एक्सन ओरियन्टेड’ र ‘स्किल फुल डेलिभरी’को विशेषताले शाहको रोजाइमा छन् । बालेन नेतृत्वको मन्त्रिपरिषद्का लागि सम्भावित सबै मन्त्री विषयमा करिबकरिब सहमति जुटिसके पनि गृह मन्त्रालयमै सहमति नजुटेको खण्डमा बालेन प्रधानमन्त्री र रवि गृहमन्त्री भएर जानसक्ने सम्भावना पनि छलफलमा आएको छ ।

तर, सर्वोच्च अदालतबाट फौजदारी र संगठित अभियोग फिर्ता लिने विषय टुंगो नलागेका कारण यो विकल्प सफल हुनेमा रास्वपा नेता स्वयं संशयमा छन् । संकटका बेला पार्टी जोगाएर आएका उपसभापति अर्याललाई गृहमन्त्रीमा रोक्दै लम्साल वा पोखरेल गृहमन्त्री हुने अवस्था आए लामिछाने नै अघि सर्नुपर्ने प्रस्ताव बोकेर उपसभापति अर्याल उभिने सम्भावना रहेको छ ।

प्रतिक्रिया

भर्खरै