काठमाडौँ । सङ्घीय संसद् सचिवालयले चैत १३ गतेभित्र नवनिर्वाचित सदस्यको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको छ । निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ । आयोगले परिणाम बुझाएको केही दिनभित्रै शपथग्रहण गराउने सचिवालयको तयारी छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन बुझाएको पाँचदेखि छ दिनभित्र नवनिर्वाचित सांसदको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको बताउनुभयो । आयोगले ५ गते कार्यालय समयमै प्रतिवेदन बुझाए सोही दिन सूचना प्रकाशित गरी शपथग्रहणको मिति तोक्ने सचिवालयको तयारी छ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यले शपथग्रहण गर्नुअघि नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यले शपथग्रहण गर्नुपर्ने छ । प्रवक्ता गिरीले ज्येष्ठ सदस्यले शपथग्रहण गरेपछि मात्रै अन्य सदस्यको शपथग्रहण हुने प्रस्ट्याउनुभयो ।
नेपालको संविधान २०७२ को धारा ९१ (५) ले प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा उल्लेख भएबमोजिम सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई शपथ गराएपछि प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सभाका नवनिर्वाचित सदस्यलाई शपथग्रहण गराउने बताउनुभयो ।