काठमाडाैं । नेकपा एमाले भित्र प्रतिनिधिसभा निर्वाचनपछि नेतृत्व परिवर्तनको बहस तीव्र भए पनि तत्काल पार्टी नेतृत्व फेरबदल नहुने संकेत देखिएको छ। प्रत्यक्षतर्फ निकै कमजोर परिणाम आएपछि पार्टीभित्रै अध्यक्ष ओलीसहित पदाधिकारीको राजीनामा माग उठेको छ। तर ओली भने राजीनामा नदिने अडानमा छन् र हारको समीक्षा गर्न केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा छन्।

पार्टीभित्रका केही नेताले नीति र नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्। लगायत नेताहरुले निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्वलाई जनताले अस्वीकार गरेको भन्दै व्यापक रूपान्तरण आवश्यक रहेको बताएका छन्। असन्तुष्ट समूहले जनमतको सम्मान गर्दै नेतृत्वले जिम्मेवारी लिनुपर्ने माग गरेको छ। तर पार्टी नेतृत्वनिकट स्रोतका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अझै पनि ओलीको पक्षमा बहुमत सदस्य रहेकाले तत्काल नेतृत्व परिवर्तन हुने सम्भावना कम देखिएको छ। आवश्यक परे बैठकमा नेतृत्व परिवर्तनको प्रस्ताव आए पनि बहुमतले जे निर्णय गर्छ, त्यहीअनुसार अघि बढ्ने बताइएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेको अवस्था निकै कमजोर बनेको छ। २०७९ को निर्वाचनमा ७८ सिट जितेको एमाले २०८२ मा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ सिटमा सीमित भएको छ। समानुपातिक मतसमेत २८ लाखभन्दा बढीबाट घटेर करिब १४ लाखमा झरेको छ, जसले पार्टीको जनसमर्थन घटेको संकेत गरेको विश्लेषण गरिएको छ।
यसैबीच अध्यक्ष ओलीले निर्वाचन परिणामप्रति प्रतिक्रिया दिँदै आफू र पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको स्वीकार गरेका छन्। लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुने भन्दै उनले प्राप्त जनमतलाई सम्मान गर्ने र जनतामाझै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले पार्टीलाई मत दिने मतदाता, कार्यकर्ता र समर्थकप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
















