काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ । पहिलो हुने निर्वाचित हुने प्रणालीको अन्तिम परिणाम सार्वजनिक भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ११० जना उम्मेदवार टुङ्गो लाग्ने प्रक्रिया लम्बिने भएकाले सरकार गठनका लागि समय लाग्ने छ ।

नेपालको संविधान, २०७२ को धारा ९३ (१) मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने उल्लेख छ । अधिवेशन आह्वान भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । हाल निर्वाचनको अन्तिम परिणामसमेत घोषणा भएको छैन । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अन्तिम परिणाम सार्वजनिक गर्न करिब एक साता लाग्ने बताउनुभयो ।
अन्तिम परिणाम घोषणा हुनुअघि निर्वाचन आयोगले समानुपातिकतर्फ प्राप्त गरेको मत अनुसार दलले पाउने प्रतिनिधि सभा सदस्यको सङ्ख्या निक्र्योल गर्ने छ । आयोगका सहसचिवसमेत रहेका प्रवक्ता भट्टराईले भन्नुभयो, “बुधबार बिहानसम्म समानुपातिकतर्फको गणना सकिन्छ । दलहरूलाई बुधबार नै बन्दसूचीमा रहेका नामहरूमध्ये प्राप्त सिटबमोजिम समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरिन्छ ।” दलहरूबाट प्राप्त भएको नाम कानुनबमोजिम मिले/नमिलेको छुट्टयाउने, त्रुटि सच्याउने, रुजु गर्नेलगायत प्रक्रियामा करिब तीन दिन लाग्ने छ । सोपछि आयोगले समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र उपलब्ध गराउने छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र आयोगले राष्ट्रपतिसमक्ष सोसम्बन्धी प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ । यसरी प्रतिवेदन प्राप्त भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक कानुनका जानकार एवं कानुन व्यवसायी डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचन प्रतिवेदन प्राप्त भएको ३० दिनसम्म अधिवेशन आह्वान गर्ने व्यवस्था रहे पनि प्रायजसो एक सातामा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने अभ्यास रहेको र त्यसमा ढिला नहुने जिकिर गर्नुभयो । आजको गाेरखापत्र दैनिकमा समाचार छ ।