कप्तान साम्बाको आर्थिक सहयोगका लागि अपील, उपचारमा ८० हजार अमेरिकी डलर आवश्यक

कप्तान साम्बाको आर्थिक सहयोगका लागि अपील, उपचारमा ८० हजार अमेरिकी डलर आवश्यक

samba

काठमाडाैं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको जटिल शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर रहेकी उनले उपचारमा करिब ८० हजार अमेरिकी डलर (झन्डै १ करोड ६ लाख रुपैयाँ) खर्च लाग्ने प्रारम्भिक आँकलन रहेको जानकारी दिइन्।

उनका अनुसार घुँडाको ‘एसीएल’ मा राखिएको ग्राफ्ट र ‘एमसिएल’ दुवैमा गम्भीर चोट लागेकाले पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था छ। यसअघि उपचारमा पूर्ण साथ दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटक प्रशासनिक सहयोग गर्न नसक्ने बताएको र अधिकतम पाँच लाख रुपैयाँसम्म नगद सहयोग गर्ने जानकारी दिएको उनले बताइन्। यसका कारण उपचार प्रक्रिया करिब दुई महिना ढिलाइ भएको उनको गुनासो छ।

हाल न्युजिल्यान्डमा क्लब फुटबल खेलिरहेकी सावित्रालाई क्लबले त्यहीँ उपचार गराउन चाहेको भए पनि उनले कतारस्थित Aspetar अस्पतालमा शल्यक्रिया गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबको बिमा रकमले शल्यक्रिया र करिब आठ महिना लामो पुनर्स्थापन (रिह्याब) खर्च नधान्ने देखिएको छ।

सरकारी तहबाट पनि पहल भएको भए पनि प्रक्रिया सुस्त हुँदा अन्योल कायम रहेको उनले बताइन्। “थाकेको हो, हारेको छैन,” भन्दै उनले पुनः नेपालको जर्सीमा मैदान फर्कने प्रतिबद्धता जनाइन्। आफ्नो उपचारका लागि क्युआर कोड र बैंक खाता सार्वजनिक गर्दै उनले समर्थकहरूसँग सहयोगको आग्रह गरेकी छन्।

प्रतिक्रिया

भर्खरै