दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

kadi

पोखरा। सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गर्नुुभएको भैँसीपालनले  व्यावसायिक रूप लिएको छ । स्नातकोत्तरसम्मको अध्ययन गर्नुुभएका उहाँले भरतपोखरीस्थित सुरौदीको तिखेढुङ्गामा दुई पाडी पाल्न सुरु गर्नुभएको थियो । आचार्यलाई तत्कालीन समयमा आफ्नै छिमेकी, इष्टमित्रसमेतले के गरेको होला भनेर होच्याउँथे, कुरा काट्ने गर्थे ।

तर समय बदलिएको छ, त्यसबेला होच्याउने र खिस्सीट्युँरी गर्नेहरू अहिले भने उहाँको फस्टाइरहेको भैँसीपालनसहितको व्यावसायिक कृषि कर्म देखेर लोभिएका छन् । भैँसीपालनले व्यावसायिक रूप लिँदा आचार्य आफैँ आफ्नो पेसाप्रति गौरवान्वित हुनुहन्छ । पाडी पाल्न सुरु गर्दा तिखेढुङ्गामा केवल झाडीमात्र रहेको र त्यसलाई फाँडेर पाल टाँगेर बसेको उहाँले अनुुभव सुनाउनुुभयो । “वरपर जङ्गलको बीचमा पाल टाँगेर मैले यो व्यवसाय सुुुरु गरेको हुँ”, आचार्यले भन्नुुभयो, “पछि गोठ तथा धन्सार बनाएर त्यसलाई व्यवस्थित गर्दै लगेँ, अहिले गोठमा ३० भैँसी छन् ।” पछिल्ला समयमा हरेक वर्ष लैनो भैँसी बेच्ने गरेको आचार्यले बताउनुभयो ।

उहाँले अघिल्लो वर्ष १८ लैनो भैँसी बेच्नुभयो । भैँसी बिक्री गर्न समस्या छैन । सामान्यतः एउटा लैनो भैँसी रु एक लाखसम्ममा बिक्री हुने गरेको छ । स्नातक तहसम्मको अध्ययन गर्नुभएका आचार्य आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकसमेतको अनुभव सगाल्दै अहिले पूर्ण रूपमा व्यावसायिक कृषिमा लाग्नुभएको छ ।

विसं २०७८ मा तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म दर्ता गरी व्यावसायिक कृषि कर्ममा लाग्नुभएका आचार्यले भैँसीपालनसँगै व्यावसायिक रूपमा तरबुजाखेतीसहित तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आउनुभएको छ । फार्ममा उहाँले हाल मकैखेती, तरबुजा, काँक्रो, लसुन, प्याजलगायत गरिरहनुभएको छ । आचार्यले सुरुमा २०७६ सालमा साना किसानबाट रु तीन लाख ऋण लिएर व्यावसायिक कृषि थालेकामा पछि फार्म दर्ता भएपश्चात कृषि विकास बैंकबाट ऋण लिएर आफ्नो व्यावसायिक यात्रा सुरु गर्नुुभएको हो ।

प्रतिक्रिया