closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो । यससँगै मृतकको संख्या चार पुगेको छ । यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका-१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको यसअघि नै मृत्यु भएको पुष्टि भइसकेको छ ।

विनासकारी डाइनामाइट विष्फोटपछि रत्न राई बेपत्ता भएका थिए । बेपत्ता भएका राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको हो । उनको जीउडालको आधारमा परिचान गरिएको खबर आएको पारिवारिस स्रोतले जनाएको छ । स्थानीय युवा नेत्रविक्रम राउतका अनुसार रत्नको मृत्यु भएको खबर आएपछि घरमा काजकिरिया सुरु भएको छ । विष्फोटमा मृत्यु भएको खबर आएपछि मृतकका छोराहरुले माघ २५ गतेदेखि नै आफ्नो संस्कार किरियामा बसेको राउतले जानकारी दिए ।
राई रोजगारीका लागि गत असोज ९ गते मेघालय गएका थिए । सँगै बसेर काम गर्दैआएका आफन्तका अनुसार रत्नको नागरिकता, डायरी र मोबाईल कोठामै छ । कोइलाखानी विष्फोटमा पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै र नरबहादुरको उपचारको क्रममा माघ २३ गते मृत्यु भएको हो । पुर्णबहादुर र सुरेन्द्र एकैघरका दाजुभाइ हुन् ।
विष्फोटमा परेका बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङगी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन् । उनीहरु रोजगारी खोज्दै गत पुस ३ गते मेघालय गएका थिए । विष्फोटमा दर्जनौं कामदार कोइलाखानीमै फसेको अनुमान छ ।
