पोखरा । गत भदौ २३/२४ गते Gen-Z आन्दोलनको मौका छोपी कास्कीको एक व्यवसायिक भवनमा तोडफोड, लुटपाट र आगजनी गरी सम्पत्ति नष्ट गर्ने कार्यमा संलग्न व्यक्तिहरूको खोजी कार्य जिल्ला प्रहरी कार्यालय कास्कीले तीव्र पारेको छ। प्रहरीले उक्त घटनामा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरिसकेको भएपनि अन्यको पहिचानका लागि सार्वजनिक रूपमा सहयोगको अपील गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नाे आाधिकारिक फेसबुकपेजमा घटनाको भिडियो सार्वजनिक गर्दै आपराधिक कार्यमा संलग्न देखिएका व्यक्तिहरूको पहिचानमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो। सार्वजनिक गरिएको भिडियोमा देखिएका व्यक्तिहरूलाई कसैले चिनेमा उनीहरूको विवरण उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।
प्रहरीका अनुसार यस आपराधिक कार्यविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ। अनुसन्धानका क्रममा केही व्यक्तिहरू पक्राउ परिसकेका छन् भने अन्यको खोजी कार्य जारी छ। प्रहरीले भिडियोमा देखिएका व्यक्तिहरूमध्ये कोही कसैलाई पहिचान गर्न सक्ने व्यक्तिहरूलाई स्क्रिनसट गरी घेरा लगाई, सम्बन्धित व्यक्तिको नामथर, ठेगाना, सम्पर्क नम्बर, फेसबुक आइडी, टिकटक आइडी, पेशा, रहन वा बस्न सक्ने सम्भावित स्थान (खुल्न सकेसम्मको विवरण) लेखेर निम्न इमेल आईडी वा WhatsApp नम्बरमा पठाई अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरेको छ। विवरण पठाउने व्यक्त्तिको पहिचान गाेप्य राखिने प्रहरीले बताएको छ ।
इमेल आईडी: [email protected]
WhatsApp: 9856078333
प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनको दायरामा ल्याउन सबैको साथ र सहयोग महत्वपूर्ण हुने बताएको छ।