पोखरा र बागलुङमा महिला उद्यमीबीच सहकार्यको प्रतिवद्धता

पोखरा र बागलुङमा महिला उद्यमीबीच सहकार्यको प्रतिवद्धता

pcci

पोखरा । पोखरा र बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरुले उद्यमशिलता विकासका निम्ति सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् । अध्ययन अवलोकन भ्रमणको क्रममा बिहीबार पोखरा आइपुगेको महिला उद्यमी समिति बागलुङ तथा पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यमी विकास उपसमितिबीच भएको अन्तक्र्रियाको क्रममा सो सहमति जुटेको हो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास उपसमिति संयोजक बन्दना कार्की केसीले देशको नीति निर्माणदेखि प्रशासनिक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि महिलाहरुले ठूलो हैन, सानोतिनो व्यवसायमात्र गर्ने हो भन्ने मानसिकताबाट नेपाली समाज मुक्त हुन नसकेको धारणा राखिन् । ‘हस्तकला, साना तथा घरेलु उद्योगमात्र महिलालाई जिम्मा लगाउने प्रवृत्तिबाट माथि नउठेसम्म देशमा उद्यमशिलताको विकास हुन सक्दैन,’उनले भनिन्,‘राज्यले महिला उद्यमशिलता विकासका लागि गरेका केही नीतिगत व्यवस्थाहरु साँच्चै राम्रा छन् ।

महिलाको नाममा उद्योग÷व्यवसाय दर्ता गर्दा दिइने छुट,पछिल्लो समय बैंक तथा वित्तीय संस्थामार्फत् महिला उद्यमशिलताका लागि प्रदान गरिएका कर्जाहरुको हामीले पनि उपयोग गर्नुपर्छ । तर राज्यले व्यवसाय गर्दा आइपर्ने झन्झट कम गर्नका लागि अझै धेरै काम हुनुुपर्छ ।’ पछिल्लो समय नयाँ अवसर पनि सिर्जना भएका, हस्तकलादेखि परम्परागत कृषि उत्पादनहरुको बजार बढेको तथा रैथाने स्वाद चाख्न मान्छेहरु सहरबाट गाउँसम्मै पुग्ने गरेकाले त्यो मागलाई केन्द्रमा राखेर महिलाहरुले व्यवसाय गर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा बोल्दै महिला उद्यमी विकास समिति बागलुङका अध्यक्ष अर्चनाकुमारी पालिखेले आफू व्यवसायमा कसरी सफल भइन्छ भन्नेबारे महिला स्वयं सचेत हुँदा व्यवसाय पनि सफल हुने बताइन् । उनले बागलुङका दूरदराजका गाउँमा उत्पादित अर्गानिक बस्तुको बजारीकरणमा सहकार्यको प्रस्ताव पनि राखिन् । ‘महिलाहरुले केही गर्न सक्दैनन् भन्ने पुरुषवादी सोच बाँकी नै छ तर हामी आफैमा पनि माथि जान नचाहने बानी छ,’उनले भनिन्,‘कोष व्यवस्थापनमा महिलाले आफूलाई अब्बल सावित गरेका छन् । अन्य क्षेत्रमा पनि महिलाले अवसर पाए धेरै गर्न सक्छन् ।’

 महिला उद्यमीहरुलाई हौसला दिन आयोजित कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले महिला उद्यमशिलता विकासका निम्ति चाहिने आवश्यक तालिम र बजारीकरणमा संघले सघाउने बताए । संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको बजार बढ्दै गएको बताउँदै गुणस्तरमा ध्यान दिन आग्रह गरे । संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य वसन्त उदासले उद्योग वाणिज्य संघहरुले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै उद्योग वाणिज्य संघहरुबीचको सहकार्यले व्यवसाय प्रवद्र्धनमा सघाउने धारणा राखे । संघकी महासचिव शोभा गौतमले एकतमा शक्ति हुने बताउँदै महिला उद्यमीहरुबीच उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याइन् । बागलुङ उद्योग वाणिज्य संघकी महिला सचिव सचिव सिर्जना राजभण्डारी श्रेष्ठले महिला उद्यमशिलता विकासमा पुरुषहरुको साथ पनि जरुरी रहेको धारणा राखिन् ।

बागलुङको महिला उद्यमी समितिकी सल्लाहकार उषा पौडेलले आर्थिक स्रोतमा महिलाहरुको पहुँच नहुँदासम्म आत्मनिर्भरताको यात्रा अधुरो हुने बताइन् । महिला उद्यमी समिति बागलुङकी महासचिव पिङ्गला जिसीले उद्योग वाणिज्य संघहरुले महिला नेतृत्व विकासका निम्ति विशेष अभियान थाल्नुपर्नेमा जोड दिइन् । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुरेश घिमिरेले महिलाहरुले आफूले प्राप्त गरेको अवसरको सदुपयोग गर्नुपर्ने धारणा राखे ।कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्षहरु दीनेशचन्द्र बास्तोला र बलराम आचार्य, कोषाध्यक्ष मनोज श्रेष्ठ, उपमहासचिव सुदीप प्रधानाङ्गसहित कार्यसमिति सदस्यहरु दूधमान गुरुङ‘आशिष’, एकनारायण गौतम, सुरेश घिमिरे, जीवनप्रकाश श्रेष्ठ,रामचन्द्र तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया