पोखरामा रहेको तालहरुको सरसफाइ गर्न पोखरा महानगरपालिका र प्रतिष्ठित व्यावसायिक घरना लक्ष्मी ग्रुपबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
स्विस प्रविधिको प्रयोग गरेर पर्यटकीय सहर पोखरामा रहेका तालहरुको सरसफाइ गर्ने गरी सम्झौता भएको हो । विशेष गरी पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर क्षेष्ठले पोखरामा बिहीबार आयोजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताउनुभयो । समझदारीपत्र अनुसार पोखरा महानगरले नीतिगत निर्णय र समन्वयको भूमिका खेल्ने छ भने अन्य आर्थिक पाटोको जिम्मेवारी लक्ष्मी गु्रुपको भएको उहाँको भनाइ छ ।
पोखराका तालहरूमा लेउ र जलकुम्भी झार नियन्त्रण गरी पर्यावरणीय सन्तुलन र पर्यटकीय आकर्षण कायम राख्ने, निकालिएको जलकुम्भी झारबाट हस्तकलाका सामग्रीहरू उत्पादन तथा प्रशोधनका लागि स्थानीय समुदायमा सीप विकासमार्फत् रोजगारी सिर्जना गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । समझदारी अनुसार पोखरा महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीहरूलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षण प्रदान गरी रोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने, पोखरा महानगरपालिकामा गरिबीको रेखामुनि रहेका विपन्न घरपरिवारलाई इन्डक्सन चुल्हो वितरण र विद्युतीय पूर्वाधार सुधारमा सहयोग गर्र्नेे लगायत उद्देश्यले समझदारी गरिएको आचार्यले बताउनुभयो ।
लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले समझदारी अनुसार देश तथा विदेशबाट अत्याधुनिक प्रविधि भित्र्याउने, ताल सरसफाइ र जलकुम्भी प्रशोधनका लागि आवश्यक वित्तीय स्रोत, उपकरण, प्राविधिक, विज्ञ परामर्शदाता, जनशक्ति लगायतको व्यवस्थापन, हस्तकलाका सामग्रीहरू उत्पादन तथा प्रशोधनका लागि आवश्यक तालिम तथा प्रशिक्षण र विपन्न परिवारहरूलाई विद्युतीय चुल्हो वितरण गरिने बताउनुभयो ।
श्रेष्ठले तालबाट निकालिने जलकुम्भी झारबाट हस्तकलाका सामग्री निर्माण गरिने बताउनुभाये । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरसँग मिलेर काम गर्न लागेको श्रेष्ठको भनाइ छ । परियोजना परीक्षण काल ६ महिनासहित ५ पाँच वर्षसम्म सञ्चालन हुनेछ । परियोजनाको प्राविधिक गुणस्तर तोकिएको मापदण्ड अनुसार नियमित अनुगमन र मूल्याङ्कन गरिने नगर प्रमुख आचार्यको भनाइ छ । पहिलो चरणमा पाइलटीङका रुपमा ६ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारीताका आधारमा पोखराको फेवाताल लगायत अन्य तालहरूमा परियोजना क्रमशः विस्तार गर्दै लगिने आचार्यले बताउनुभयो । उहाँका अनुसार पोखरा २६ मा पर्ने न्युरेनी तालबाट सरसफाइको काम सुरुआत गरिने छ । पोखरामा रहेका फेवाताल, बेगनास, रुपा, खास्टे, मैदी, दिपाङ, गुँदे लगायतका तालहरु सरसफाइन गरिने छ ।
पोखराका तालहरुलाई पुरानै अवस्थामा फर्काउन यसले सहयोग पुग्ने नगर प्रमुख आचार्यले बताउनुभयो । परियोजना मार्फत् पोखरामा रहेका तालहरूको दिगो संरक्षण र विकासमा महत्वपूर्ण टेवा पुग्ने र तालहरूमा देखिने फोहोर र प्रदूषणको समस्या समाधान हुने विश्वास नगर प्रमुख आचार्यको छ । कार्यक्रममा परियोजनाको बारेमा प्रस्तुति राख्दै लक्ष्मी गु्रपका कार्यकारी निर्देशक नीरञ्जन श्रेष्ठले स्विजरल्यान्डले विकास गरेको ताल सरसफाइको प्रविधिलाई भित्र्याएर पोखराका तालको सरसफाइ गरिने बताउनुभयो । उहाँका अनुसार उक्त प्रविधिले अन्य वातावरणी कुनै असर नगर्ने दाबी गर्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य र महानगरका प्रवक्ता मोती तिमिल्सेनाले यो परियोजनाले ताल संरक्षणसँगसँगै र पर्या संरक्षणमा दिर्घकालीन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।