साउने संक्रान्ति पर्व आज मनाइँदै

साउने संक्रान्ति पर्व आज मनाइँदै

saune

आज साउन १ गते । साउने  सङ्क्रान्ति पर्व आज  मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १ माघमा सुरु हुने उत्तरायण र १ साउनमा सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ ।

अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने  पनि चलन छ ।  एक महिना काम गर्ने किसान १ साउनमा आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् ।

प्रतिक्रिया

भर्खरै