बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु, चारको उपचारहुँदै

बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु, चारको उपचारहुँदै

accident_UPDhwBMd6M

मकवानपुर। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ विद्युत प्राधिकरणस्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु र चारजना पैदलयात्रु घाइते भएका छन् । सोमबार साँझ त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नं. बस ब्रेक फेल भई सडकमा हिँडिरहेका पुरुष व्यक्तिहरुलाई ठक्कर दिई थाहा नगरपालिकाको उपप्रमुख भरत गोपालीको घरभित्र बस पस्न गई दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविन बाबु अर्यालको नेतृत्वमा गएको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बसको ठक्करबाट हाल वतन नखुलेको वर्ष ३५-४० का कृष्ण बलामी र ठेगाना नखुलेको वर्ष ३५-४० का लोकेन्द्रकुमार ठाकुरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा सोमबार १९ः२५ बजे मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ठाकुर र बलामीको शव प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा छ । यस्तै, ठेगाना नखुलेका वर्ष ३५-३६ को रघुनन्दन यादव र वर्ष अं.३५-३६ का कमलेश कुमार साहको शरीरको विभिन्न भागमा चोट लागि गम्भीर अवस्था रहेकाले उपचारको लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको छ । जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने वर्ष ३२ का छेयाङ दोर्ज लामा र बारा जिल्ला कोल्बी नगरपालिका १ बस्ने वर्ष ३० का रामगुलाम चौधरी शरीरको विभिन्न भागमा चोट लागेको र हाल प्राथमिक स्वास्थ्य केन्द्र पालुङ मकवानपुरमा उपचार भइरहेको छ । बस चालक थाहा नगरपालिका ५ वसन्तका वर्ष २९ का राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया