पोखरा । पोखरामा आज र भाेलि तेस्रो गाउँ पर्यटन मेला हुँदै छ । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजार सम्म जोड्ने प्रयत्न गर्दै गाउँ पर्यटन प्रर्वद्धन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
गाउँमा नै आयका अवसरहरु सिर्जना गरी युवा पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकहरुलाई समेत गाउँ गाउँमा रहेका पर्यटकीय संसाधनसँग जोड्ने लक्ष्य राखिएको आयोजक संस्था नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार पर्यटकको हाल रहेको प्रति दिन बसाइ र खर्च बढाउन प्रयत्नशील रही विदेशी मुद्रा समेतको आर्जनमा सहयोग पुर्याउने उद्देश्य मेलाकोे छ ।
मेलामा सामुदायिक घरबास (होमस्टे) तथा गाउँको पर्यटन व्यवसायीका स्टलहरू स्थापना, गाउँ पर्यटनको सम्भावना, चुनौती र अवसर, गाउँ पर्यटन प्रवद्र्धनमा उद्योगी/व्यवसायीको भूमिका, गाउँ पर्यटन प्रवद्र्धन संचार क्षेत्रको भूमिकाको बारेमा टक शो कार्यक्रममा गरिनेछ । विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिहरूमार्फत संस्कृति प्रवद्र्धन, सूचना तथा प्रचार सामग्रीको वितरण, गाउँ पर्यटन सम्बन्धी प्रचारप्रसारका सामाग्रीहरुको वितरण गरिने छ ।
१५ लाख खर्च लाग्ने अनुमान गरिएको मेलामा सहआयोजक गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल गण्डकी, रहेको छ भने उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, होमस्टे फ्रेडरेसन नेपाल (होफेन) र पर्यटन परिषद पोखराको पनि सहकार्य रहेको छ । लामिछानेका अनुसार मेलामा २५ वटा होम स्टेबाट व्यवसायीहरु मेलामा सहभागी हुनेछन् । २०७३ र २०७६ सालमा पनि गाउँ पर्यटन मेला आयोजना गरिएको थियो । यो वर्षदेखि भने वार्षिक रुपमा मेला आयोजना गर्ने योजना नेपाल पर्यटन बोर्डले बनाएको लामिछानेको भनाइ छ । मेलाका गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्ने कार्यक्रम छ ।