युवा संघ नेपालको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने

युवा संघ नेपालको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने

kp oli

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) पोखरा आउनुहुने भएको छ । शुक्रबारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवशेनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा आउनहुने भएको हो । पोखराको अमरसिंहचौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार ११ बजे हेलिकप्टरमार्फत् प्रधानमन्त्री ओली पोखरा आउनुहुनुेछ । प्रधानमन्त्री ओली पोखरा आउने भएपछि पोखराको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

युवा सङ्घको १० औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शंकर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले सम्बोधन गर्नुहुने एमाले केन्द्रीय सदस्य तथा युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहारीले जानकारी दिनुभयो । युवा सङ्घको महाविधेशनमा देशभरबाट २ हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

नेतृत्वमा पाँच जनाको दाबी

युवा सङ्घ नेपालको नेतृत्व लिन अहिलेसम्म अध्यक्षमा पाँच जनाले आकाङक्षा देखाउनुभएको छ । वर्तमान अध्यक्ष क्षितिज थेवेको दोहोरिने इच्छा छ भने उपाध्यक्षहरु कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम पनि अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ । वर्तमान महासचिव सुमन पुरीले पनि आकांक्षा देखाउनुभएको छ ।

युवा संघको महासचिवमा अहिलेका सचिव निरोज पौडेल, कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारी लगायतको दाबी छ । अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी ३ सय ३९ सदस्यीय छ भने अब बन्ने कमिटी १ सय ५१ सदस्यीय हुनेछ ।

प्रतिक्रिया