आजदेखि मौसम सुुधार हुने, वर्षासँगै जाडो बढ्ने

आजदेखि मौसम सुुधार हुने, वर्षासँगै जाडो बढ्ने

 सरदरमा यो वर्ष जाडो भने कम हुने प्रक्षेपण

weather photo

पोखरा । तीन किसिमको मौसमी प्रणाली विकासित हुँदा भाइटीका अर्थात कात्तिक १८ गते बाट गण्डकी प्रदेशको राजधानी पोखरासहित नेपालका अधिकांश पहाडी भुभागमा वर्षा भएको छ । पोखरामा सोमबार असिना र पानी नै परेको छ । असिनाले थन्क्याउने बेलाको धानमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् । हिजो साँझ पौन ६ बजेको रेकर्ड अनुसार पोखरामा विगत २४ घण्टामा ४० मिलिमिटर पानी परेको छ ।

पोखराका केही भागमा बाक्लै असिना परेको र केही भागमा छिटफुट असिना परेको किसानहरुले बताएका छन् । मनसुन बाहिरिएको तीन साताापछि यसरी वर्षा हुनुमा पश्चिमी वायु, नेपालमा विकसित हुने स्थानीय र भारतको पश्चिम बंगाल क्षेत्रका विकसित भएको न्युनचापीण प्रणाली जिम्मेवार रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार आज मंगलबारदेखि भने मौसमा सुधार हुँदै जानेछ । मंगलबार दिउँसोसम्म पहाडी भूभागतिर बदली हुने र वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । सोमबार राति र मंगलबार दिउँसो कुनै पनि क्षेत्रमा भारी वर्षा हुने सम्भावना नभएको मौसमविदको भनाइ छ ।

वर्षाको अनुमान गरिएका गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि हल्का र मध्यम वर्षा हुने पूर्वानुमान छ । पश्चिम दिशाबाट आउने भएकाले नेपालमा मनसुन सकिएपछि वर्षा गराउने आर्द्रतायुक्त हावालाई ‘वेस्टर्ली’ वा पश्चिमी वायु भनिएको हो । विज्ञहरूका अनुसार अरब सागरमा उत्पन्न हुने यो प्रणाली हिउँद याममा त्यहीँबाट आर्द्रता लिएर नेपाल आइपुग्ने गर्दछ ।

अक्टोबरदेखि डिसेम्बर महिनासम्मको मौसमको प्रक्षेपण सार्वजनिक गर्दै जल तथा मौसम विज्ञान विभागले यो अवधिमा अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम दुबै सरदरभन्दा बढी हुने अर्थात् कम जाडो हुने पूर्वानुमान गरेको छ ।

अब जाडो बढ्ने

नेपालका अधिकांश भूभागमा केही दिनयता अधिकतम र न्यूनतम दुबै तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढ्दै गएको र वर्षा भएपछि झन जाडो बढ्ने अनुमान गरिएको छ । सोमबार पोखराको अधिकतम तापक्रम २६ दशमलव ८ डिग्री सेल्सियस र न्युनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।  नेपालको राजधानी काठमाडौंको तापक्रम सोमबार २२ दशमवल ३ डिग्री सेल्सियस र न्युनतम तापक्रम १४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा हिजो ८ दशमलव ५ मिलिमिटर पानी परेको छ ।

अक्टोबरदेखि डिसेम्बर महिनासम्मको मौसमको प्रक्षेपण सार्वजनिक गर्दै जल तथा मौसम विज्ञान विभागले यो अवधिमा अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम दुबै सरदरभन्दा बढी हुने अर्थात् कम जाडो हुने पूर्वानुमान गरेको छ ।

अहिलेको वर्षाले थन्क्याउने बेलाको धनलाई असर गरेपनि हिउँदो बालीलाई भने फाइदा पुर्‍याएको छ भने केही समयदेखि पानी नपर्दा बढेको वायु प्रदूषणलाई कम गर्न सहयोग पुर्‍याएको विज्ञको भनाइ छ ।

प्रतिक्रिया